पोखरा/ भुटान एअरले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट आजदेखि औपचारिक रूपमा पोखरा– पारो (भुटान) सिधा उडान सेवा सुरु गरेकाे छ ।
भुटानस्थित पारो विमानस्थलबाट पोखरा खाली आएको बिमानले पोखराबाट ९ जना यात्रु तथा क्रु मेम्बरसहित पारोका लागि उडेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् । उनी पनि सोही एयरमार्फत भुटान पुगेका छन् । प्रमुख आचार्यले उडान सुभारम्भको ओपनिङ फ्लाइटको केक काटेर गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भुटान एयरलाइन्स र नेपालस्थित प्रतिनिकि युनिभर्सल टुर्स एन्ड ट्राभल्सले यसअघि गरेको प्रतिबद्धता निकट भविष्यकै नियमित उडानमा पूरा हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।’

अक्टोबरबाट सुरु हुने बताइएको पूर्वनिर्धारित कार्यक्रम नेपालमा भएको जेन जी आन्दोलनका कारण री–सेड्युल भएको र आज पहिलो उडान सफलतापूर्वक शुभारम्भ भएको हो । बाँकी नियमित सिधा उडानहरू २०२६ अप्रिलदेखि पुनः सुरु हुने भुटान एयरलाइन्सबाट जानकारी प्राप्त भएको आचार्यले बताएका छन् ।





