बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव हुने भएको छ । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यपार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको हो ।
बिहिबार पत्रकार सम्मेलन गरेर संघले उक्त जानकारी गराएको हो । पत्रकार सम्मेलनमार्फत महोत्सवलाई मौलिक बनाउने संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । पर्यटनको प्रवद्र्दन, जिल्लाको विकास निर्माणमा साथ दिने र संघको संस्थागत विकासमा महोत्सवलाई उपयोग गरिने शाक्यले बताए ।
महोत्सवमा ८ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य समेत राखिएको छ । बागलुङस्थित कोसेली घर संचालन गर्न महोत्सवको मुनाफालाई सदुपयोग गर्ने, सडक मानवरहित नेपाल बनाउने मानव सेवा आश्रमको अभियानलाई सफल बनाउन महोत्सवको टिकटबाट १० रुपियाँ सहयोग गर्ने, खेलकुदका लागि कोष स्थापना गर्ने, बागलुङ उद्योग वाणिज्य संघबाट संचालन गरिने सदस्य कल्याणकारी कोष संचालनका लागि ५ लाख रुपियाँ विनियोजन गर्ने उद्देश्य महोत्सवमार्फत गरिने आयोजकले अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
महोत्सवमा जिल्ला र प्रदेशका पर्यटकीय स्थलको वृत्तचित्र प्रर्दशनी, टिकटक च्यालेन्ज, फोटो कन्टेन्ट प्रतियोगिता, हाइकिङ एण्ड टुर प्याकेज, मेड इन बागलुङ कक्ष स्थापना गरी स्थानीय उत्पादनको प्रवद्र्दन गर्ने गतिविधि संचालन हुनेछन् । त्यस बाहेक डिजिटल विज्ञापन, अग्रेजी नयाँ वर्षको अवसरमा डिजे कन्र्सट, सुन्तला जोन स्थापना र प्रवद्र्धन, माछा, होमस्टे कनेक्सन र स्थानीय खानाको प्रदर्शन गरिने योजना पनि संघले बनाएको छ ।
यसैबीच महोत्सवमा रैथाने बाली र पशुजन्य उत्पादनको बिक्री, मौलिक जातीय झाँकी प्रदर्शन, सूचना प्रविधिसम्बन्धी परामर्श र बिक्री, शैक्षिक परामर्श, जातीय खानाका परिकारको स्टल तथा एक गाउँ एक उत्पादनको सामग्री प्रदर्शनीसमेत राखिने छ ।
महोत्सवलाई व्यवस्थित बनाउन अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा मुल समारोह समितिसहित दर्जन बढी उपसमिति गठन भएका छन् । मनिष राजभण्डारीको संयोजकत्वमा आर्थिक समिति, युवराज राजभण्डारीको संयोजकत्वमा अतिथि सत्कार समिति, नरेश कँडेलको अध्यक्षतामा सुरक्षा समिति र दयाराम पौडेलको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ ।
त्यस्तै सञ्जयकुमार श्रेष्ठको संयोजकत्वमा लोकदोहोरी गीत प्रतियोगिता, ऋषिराम गौतमको संयोजकत्वमा प्रचार प्रसार तथा मञ्च व्यवस्थापन समिति र नविनकुमार श्रेष्ठ नेतृत्वमा टिकट व्यवस्थापन समिति गठन गरिएको महासचिव इन्द्रमणी पौडेल अर्जुनले जानकारी दिए । सिर्जना राजभण्डारीको संयोजकत्वमा महिला भलिबल प्रतियोगिता र अकिलबहादुर केसीको संयोजकत्वमा पुरुष भलिबल प्रतियोगिता हुनेछ । बागलुङको पालिकास्तरीय पुरुष भलिबल र गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता हुनेछ ।
यो पटक महोत्सवमा झण्डै १ करोड ५० लाख कमाइ गर्ने र सबै खर्च कटाएर ५० लाख बचत गर्ने लक्ष्य राखिएको शाक्यले जानकारी दिए । महोत्सवलाई बागलुङको व्यवसाय प्रवद्र्धनमा जोडिनेछ । त्यसका लागि जिल्लाका संभावनाको खोजी गर्ने, बागलुङ नगरपालिका वडा नं. १ को बाङगेचउरमा महोत्सव भएपनि संभावनाको खोजीका लािग गरिने बहस तथा अन्य छलफलहरु बागलुङ बजारका विभिन्न स्थानमासमेत गरिने निवर्तमान अध्यक्ष नरेश कंडेलले बताए ।
पछिल्लो समय द क्लिबमार्फत बागलुङको बलेवा क्षेत्रमा व्यवसाय प्रवद्र्धनका कार्यक्रम भएको, ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महासंघको बैठक बसेपछि प्रचार प्रसार बढेको र पछिल्ला वर्ष ढोरपाटनमा सयौं पर्यटक बढेको कंडेलले जानकारी दिए ।
पत्रकार सम्मेलन अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षता महासचिव इन्द्रमणी पौडेल अर्जुनको संचालनमा सम्पन्न भएको थियो । संघका प्रेस सल्लाहकार सुवास आचार्यले कार्यक्रमबारे थप जानकारी गराएका थिए ।





