बागलुङ/संसारकै दोश्रो अग्लो बञ्जी रहेको द क्लिफ तेस्रो पटक उत्कृष्ट करदाता बनेको छ । आन्तरिक राजश्व कार्यालय बागलुङले राष्ट्रिय कर दिवश–२०८२ को अवसरमा द क्लिफ सम्मानित समेत भयो ।
२०८० र ८१ म पनि उत्कृष्ट करदाता भएकोमा यो वर्ष पनि करदाता मध्येको उत्कृष्ट भएर पुरस्कृत भएको आन्तरिक राजश्व कार्यालयका प्रमुख प्रमोदकुमार श्रीवास्तवले बताए । कर दिवश कार्यक्रममा द क्लिफका निर्देशक राजनकुमार जोशीलाई श्रीवास्तबले सम्मान पत्र प्रदान गरेका थिए ।
गत २०७७ सालमा स्थापना भइ २०७८ बाट व्यवसायिक काम थालेको द क्लिफले बागलुङ र पर्वतमा पर्यटन प्रवद्र्धनमा पनि उल्लेख्य योगदान गरेको छ । सिन्धुपाल्चोकका राजु कार्कीको परिकल्पनामा स्थापित द क्लिफमा दर्जनबढी साहसिक खेल र पर्यटक आर्कषण गर्ने क्रियाकलापहरु समावेश छन् ।
कालीगण्डकीको खाेंंचमा २ सय २८ मीटर अग्लो बन्जीजम्पसहित स्विङ, मेगा ट्रेल लगायतका साहसिक खेल यहाँ समावेश छन् । द क्लिफले ३५ करोडभन्दा बढी लगानी गरिसकेको छ । त्यस बाहेक यहाँ स्काइ साइक्लिङ, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज स्काई ग्लाइडिङ, स्काई चियर जस्ता क्रियाकलाप छन् । झण्डै एकसय जना राख्ने पाहुना घर र १० बढी स्विट रुम समेत द क्लिफमा छन् ।





