बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मुग्लिङ–पोखरा सडकको विजयपुरमा आजदेखि दैनिक ४ घण्टा सवारी बन्द हुने

मुग्लिङ–पोखरा सडकको विजयपुरमा आजदेखि दैनिक ४ घण्टा सवारी बन्द हुने


  • ढाेरपाटन संवाददाता
  • मंसिर ६ २०८२, शनिबार

पोखरा/  मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत पोखराको विजयपुर खोलाको पुल निर्माण कार्यले गति लिएको छ । यसका लागि सडक विस्तार आयोजनाले केही दिनसम्म दैनिक ४ घन्टा सडक बन्द गरेको छ ।

आयोजनाको पश्चिम खण्डले एक सूचना जारी गर्दै निर्माणाधीन पुलमा ‘गर्डर लन्चिङ’ गर्नुपर्ने भएकाले आगामी ६ दिनसम्म निश्चित समयका लागि सडक बन्द गरिने जनाएको हो । सडक विस्तार आयोजना राष्ट्रिय गौरवको आयोजनामा पर्छ ।

आयोजना प्रमुख कृष्णबहादुर कुँवरद्वारा जारी सूचना अनुसार आज मंसिर ६ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक दुई चरणमा गरी चार घण्टा सडक बन्द वा आंशिक रूपमा प्रभावित हुनेछ । निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरादेखि विजयपुर हुँदै तालचोक चल्ने सवारी साधनहरू रोकिनेछन् । यद्यपि, यात्रुहरूको चाप र अवस्था हेरेर प्रत्येक ३० मिनेटमा लाइनमा रहेका सवारीसाधनलाई पास गराउने गरी लचिलो व्यवस्थापन अपनाइने आयोजनाले प्रष्ट पारेको छ ।

सडक बन्द भएको समयमा यात्रु तथा चालकहरूलाई सहजता प्रदान गर्न आयोजनाले वैकल्पिक मार्गहरूको प्रयोग गर्न सुझाएको छ । जसअनुसार मोटरसाइकल, स्कुटर तथा साना चारपांग्रे सवारीसाधनहरूले बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने भित्री बाटो प्रयोग गर्न सक्नेछन् । त्यसैगरी, बस, ट्रक जस्ता ठूला तथा गह्रौ सवारीसाधनहरूले भने पावरहाउस चोकबाट बाघमारा हुँदै बिरौटा निस्कने मार्ग प्रयोग गर्नुपर्नेछ ।

आयोजनाले यो समयावधिभर ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय कास्की, सुरक्षा निकाय तथा आम सर्वसाधारणमा अनुरोध गरेको छ । तोकिएको समयमा अत्यावश्यक काम परेका यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गरी वा समय तालिका ख्याल गरेर मात्र यात्रा गर्न आयोजनाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->