तनहुँ/ पहाडकी रानी भनेर चिनिने जिल्लाको पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसारका लागि १२ दिने महोत्सव हुने भएको छ । पर्यटन, व्यापार, उद्योग र स्थानीय संस्कृतिलाई एकै स्थलमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको छैटौं बन्दीपुर महोत्सव यही मंसिर १० गतेदेखि २१ गतेसम्म सञ्चालन हुने भएको हो ।
तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइ समितिको आयोजनामा हुने महोत्सवले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई थप गति दिने अपेक्षा गरिएको आयोजकले जनाएको छ । ‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रव्रद्धनः स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको महोत्सव संयोजक एवं तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईका सभापति धनश्याम उपाध्यायले बताए । बन्दीपुरमा रहेका ऐतिहासिक सम्पदाहरु एवं प्रचुर सम्भावना बोकेका पर्यटकीयस्थलको पहिचान, प्रचारप्रसार गरी बन्दीपुरको आर्थिक उन्नतिमा टेवा पुर्याउने लक्ष्य रहेको उनले बताए । उनले भने, ‘बन्दीपुर नेपालकै पर्यटकीय गन्तव्यस्थल रहेकाले बन्दीपुरको प्रवर्द्धन गर्दै स्थानीय स्तरमै रोजगारीको सिर्जना गर्न महोत्सवले टेवा पुर्याउने अपेक्षा गरेका छौं ।’
महोत्सव दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको र ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान समितिले जनाएको छ । महोत्सवका क्रममा धार्मिक तथा ऐतिहासिक स्थल खड्गदेवी मन्दिर, पहाडपानी महादेव, विन्ध्यवासिनी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, चामुण्डामाई भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुन्द सेन दरबार तथा मार्ग, टुँडिखेल, रानीवनको भ्रमण गराइने बताइएको छ । उनले भने, ‘महोत्सवका क्रममा सहासिक पर्यटन खेलहरु चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा, साइक्लिङिकोसमेत आनन्द लिन सकिने छ ।’
महोत्सवले बन्दीपुरमा बाह्य तथा अन्तरिक पर्यटक भित्र्याउन सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । उनले भने, ‘पर्यटक भित्रिनुका साथै स्थानीय उत्पादनले बजार पाउने छ भने स्थानीयले रोजगार पाउने छन् ।’





