आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा–बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो

पोखरा–बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो

बर्खायाम सकिएलगत्तै काम थाल्ने योजना रहे पनि बीचमा ठूला चाडबाड परेकाले केही ढिलाइ भएको कार्यालयले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८२, सोमबार

पोखरा / मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डको मर्मतसम्भार सुरु भएको छ । सडकका ठाउँठाउँमा परेका खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रुले सास्ती पाएपछि सडक डिभिजन पोखराले मर्मतको काम थालेको हो ।

सडक डिभिजनले कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुंगासम्म गरी दुई खण्डमा विभाजन गरेर मर्मत अघि बढाएको छ । अहिले फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने काम भइरहेको कार्यालयका सब-इन्जिनियर लोकेश पौडेलले जानकारी दिए ।

शिवालय निर्माण सेवामार्फत सडक मर्मतको काम अगाडि बढाइएको छ । बर्खायाम सकिएलगत्तै काम थाल्ने योजना रहे पनि बीचमा ठूला चाडबाड परेकाले केही ढिलाइ भएको कार्यालयले जनाएको छ । गत बर्खामा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । सब-इन्जिनियर पौडेलले अब छिट्टै यो समस्या हट्ने विश्वास व्यक्त गरे ।

सडक धेरै ठाउँमा बिग्रेकाले मर्मतसम्भारका लागि विनियोजित बजेट अपुग हुने देखिएको पौडेलले बताए । उनले भने, ‘बजेटले भ्याएसम्मको काम समयमा नै हुनेछ ।’ पर्यटकीय राजधानी पोखरा जोड्ने यो मुख्य सडक बिग्रँदा दुर्घटनाको जोखिम बढेको छ ।

विशेषगरी कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी छ । सडक कतै भासिएको छ भने कतै ठूल्ठूला खाल्डा परेका छन् । यो सडक हुँदै पश्चिमतर्फका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट दैनिक सयौं गाडी पोखरा आउजाउ गर्ने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->