पर्वत/आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै पर्वतमा चार हजार छ सय १२ जना मतदाता थप भएका छन् ।
सरकारले अध्यादेशबाट मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने घोषणा गरेयता अन्तिम मितिसम्म उक्त सङ्ख्यामा मतदाताहरूले आफ्नो नाम नामावलीमा दर्ता गराएका हुन् । सुरुमा कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्ने समय सीमा राखेको आयोगले सरकारको आग्रहमा सो म्याद मङ्सिर पाँच गतेसम्म थप गरेको थियो ।
जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायका अनुसार, उक्त अवधिमा कार्यालयमा नै उपस्थित भएर एक हजार दुई सय २५ जनाले आफ्नो नाम दर्ता गराएका छन् । उनीहरू पाँच सय १२ जना महिला र सात सय १३ जना पुरुष रहेका छन् ।
यस्तै राष्ट्रिय परिचय पत्रको आधारमा व्यक्ति आफैले ‘अनलाइन’मार्फत् तीन हजार तीन सय ८७ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । ‘अनलाइन’मार्फत् नाम दर्ता गराएका मतदाताहरूका विवरण रुजु गर्ने काम चलिरहेको बताउँदै अधिकारी उपाध्यायले अयोग्य रहेका भएमा केहीको नाम हटाइने र अहिले विवरण प्रविष्ट गरे अनुसारकै सङ्ख्या कायम नहुन सक्ने जानकारी दिए ।
२०७९ सालमा भएको प्रतिनिधि सभाको पछिल्लो निर्वाचनको बेलामा जिल्लामा कुल मतदाताको सङ्ख्या एक लाख २२ हजार छ सय ४९ रहेको थियो । तर फागुन १६ मा हुने भनिएको उपनिर्वाचनको क्रममा जिल्ला निर्वाचन कार्यालय पर्वतले मतदाताहरूको विवरणहरू रुजु गरेर थप सुधार गरेको थियो । त्यस क्रममा मतदाताको सङ्ख्या घटेर एक लाख २१ हजार चार सय ५४ कायम भएको थियो । विवरण अद्यावधिकको क्रममा एक हजार एक सय ९५ जना मतदाता घटेका थिए । मृत्यु भएकाहरूको विवरण हटाउने, बसाइ सरी गएका तथा विवाह भएर गएकाहरूको विवरणहरू स्थानान्तरण गर्दा उक्त सङ्ख्या घटेको हो । २०८२ असोज आठ गतेसम्मको अन्तिम विवरण अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ६१ हजार दुई सय ९७ र पुरुष मतदाताको सङ्ख्या ६० हजार एक सय ५७ रहेको थियो ।
पछिल्लो अद्यावधिक सङ्ख्या एक लाख २१ हजार चार सय ५४ जनामा हाल दर्ता भएका चार हजार छ सय १२ जना थपिँदा जिल्लाको कुल मतदाता सङ्ख्या एक लाख २६ हजार ६६ पुगेको छ । कार्यालयले मतदाताहरूको विवरणहरू परीक्षण गरिरहँदा विभिन्न कारणले मतदाता बन्न अयोग्य रहेकाहरूको नाम सूचीबाट हट्ने छ । त्यो अवस्थामा हाल कायम रहेको सङ्ख्या घट्न सक्ने सम्भावना रहेको कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र प्रसाद शर्माले बताए ।
निर्वाचन आयोगले मङ्सिर २१ गतेदेखि २७ गतेभित्र अद्यावधिकका लागि निवेदन दिन आग्रह गरेको छ । सो अवधिभित्र परेको दाबीविरोध, दोहोरिएको नाम हटाउने, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन निवेदन परेपछि आयोगले सोमाथि छानबिन गरी पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ ।





