पोखरा/पोखराको गणेशटोलमा आउँदो शनिबार यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३ ले नेवाःमिसा पुचःसँगको सहकार्यमा छैटौं संस्करणको महोत्सव आयोजना गर्न लागेको हो । पोखराको गणेशटोल पुरानो नेवार बस्ती हो ।
पोखरा ३ का वडाध्यक्ष देवकृष्ण पराजुलीका अनुसार गणेशटोलको सडकमै बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ ।
सो महोत्सव आयोजना गर्न लागिएको हो । यःमरीजस्तो नेवारी परिकारको प्रवद्र्धन गर्नु तथा संस्कृतिको संरक्षण गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष पराजुलीले बताए ।
पोखराको पुरानो टोलमा रहेका पुराना घरहरु संरक्षणको योजना बनाइए पनि विविध कारणले त्यस्ता सम्पदा जोगाउन नसकिएको तर संस्कृति संरक्षणमा भने वडा कार्यालयले विशेष ध्यान दिएको उनको भनाइ थियो ।
महोत्सवमा नेवारी परिकार बिक्री, यःमरी प्रतियोगिता, झाँकी प्रदर्शनी, ब्याण्डको प्रस्तुति र विभिन्न विद्यालयका विद्यार्थीको नृत्यसमेत समावेश गरिएका छन् । अध्यक्ष पराजुलीका अनुसार यःमरी प्रतियोगिताका लागि झण्डै २ दर्जन टोली तयारी अवस्थामा छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।महोत्सवमा नेवारी परिकारका ६ वटा स्टल राखिने छ भने यःमरीलाई ८० र खुवाको यःमरीलाई १ सय रुपैयाँ मूल्य तोकिएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखले वडा कार्यालयले संस्कृति संरक्षणमा देखाएको चासो सह्रानीय भएको बताए ।
नेवाः मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्यले महोत्सवमा यःमरी कसरी बनाइन्छ भन्नेसहित यसका विविध पक्षबारे जानकारी दिने बताइन् । यसअघि आयोजित महोत्सवले यःमरीलाई लोकप्रिय बनाएको उनको भनाइ थियो ।





