काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरेको छ ।
सीआईबीले शेरचनलाई आइतबार बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ गरेको हो । शेरचनसँगै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्ता अधिकृत रिवास श्रेष्ठ पनि पक्राउ परेका छन् ।
‘बैंकिङ कसुर अरोपमा शेरचनलाई बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको हो,’ सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले भने, ‘बाँकी कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।’
यसअघि सीआईबीले प्रभु बैंकका पूर्वअध्यक्ष देवी भट्टचनलाई पनि बैंकिङ कसुरमा पक्राउ गरेको थियो । उनी भने उनी भने हाजिर जमानीमा रिहा भएका छन् ।
सिआइबीले गत कात्तिक २२ गते बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर कर्जा अपचलनसम्बन्धी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।
प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ ठगीबारे दिएको जाहेरीका आधारमा सिआइबीले गत कात्तिक ११ गते भट्टचनलाई पक्राउ गरेको थियो। सिआइबीले प्रभु म्यानेजमेन्ट प्रालिलाई दिएको करिब १ अर्ब रुपैयाँको कर्जाका विषयमा अनुसन्धान गर्दा उनीहरु पक्राउ परेका हुन्।





