फाइल तस्बिर
पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले आफ्नो चौथो संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २२ देखि २४ गतेसम्म आयोजना गर्ने भएको छ ।
कक्षा १२ सम्म अध्ययनरत तथा शैक्षिक सत्र २०८२ सम्म १८ वर्ष उमेरभित्रका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउने गरी प्रतियोगिता आयोजना गर्न लागिएको कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले बताए ।
उनका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा आउने विद्यालयहरूले पुरस्कार स्वरूप क्रमशः ५१ हजार एक सय ११, ३१ हजार एक सय ११, २१ हजार एक सय ११ र ११ हजार एक सय ११ रुपैयाँ पाउने छन् । विजेता बनेको विद्यालयले रनिङ शिल्ड अबको एक वर्षका लागि आफ्नो विद्यालयमा राख्न पाउने छ ।
पहिलोदेखि सान्त्वना सम्मका सबै विद्यालयहरूले ट्रफी तथा प्रत्येक ‘इभेन्ट’ मा पहिलो, दोस्रो र तेस्रो बन्ने विद्यार्थीहरूले व्यक्तिगत रूपमा स्वर्ण, रजत र कांस्य पदक प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुनको लागि मंसिर १९ गते बेलुकासम्ममा नगरपालिकाको शिक्षा शाखामा खेलको विधा र खेलाडीहरूको दर्ता गरिसकेको हुनुपर्ने, मंसिर २२ गतेसम्म उमेर १८ वर्ष वा सोभन्दा कमी भएको हुनुपर्ने, प्रत्येक विद्यालयबाट टिम ‘इभेन्ट’हरूमा एक÷एक ‘टिम’ सहभागी गराउन पाउने, एथ्लेटीक्स इभेन्टमा प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाक इभेन्टमा भाग लिन पाउने छन् ।
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भइसकेको खेलाडीलाई यो प्रतियोगितामा सहभागी नगराइने, गैह्र विद्यार्थी तथा उमेरको सन्दर्भमा दाबी विरोध पर्न गई प्रमाणित भएमा सहभागी खेलाडी, विद्यालय र प्रधानाध्यापकलाई आयोजकले नियमानुसार कारबाही गर्ने भनिएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, ट्र्याकतर्फको दौड, फिल्डतर्फ उफ्रिने र फ्याँक्ने तथा मार्सल आर्टतर्फ कराँते र तेक्वान्दोका विभिन्न विधाका विभिन्न तौल समूहमा प्रतियोगिताको आयोजना हुनेछन् ।
यसअघि तीनवटा संस्करणमा लगातार विजेता बन्दै सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले पाँच लाख रुपैयाँ यसै वर्ष पाउने छ। पहिलो संस्करणको प्रतियोगिता सुरु गर्नुअघि नै लगातार तीनपटक प्रतियोगिता जितेमा विद्यालयले पाँच लाख रुपैयाँ पाउने र शिल्ड सधैँका लागि विद्यालयकै हुने घोषणा भएको थियो ।
सोही अनुसार नारायण माविले शिल्ड विद्यालयमा रहेको भए पनि नगरपालिकाको तर्फबाट घोषणा बमोजिमको पाँच लाख सहित तेस्रो संस्करणमा प्रथम बनेको ५१ हजार रुपैयाँ पनि नपाएको प्रधानाध्यापक प्रकाश रिजालले बताए । तर अब उक्त रकम भुक्तानीको प्रक्रियामा रहेको शिक्षा अधिकृत सुवेदीको भनाइ छ ।
पहिलो संस्करणमा १२ स्वर्ण, ६ रजत र ९ कास्य गरी कुल २७ पदक जितेको नारायण मा.वि.ले दोस्रो संस्करणमा २३ स्वर्ण, ७ रजत र ८ कांस्य गरी कुल ३८ पदक तथा तेस्रो संस्करणमा २१ स्वर्ण, ९ रजत र १० कास्य गरी ४० पदक जितेको थियो ।
गत वर्ष दोस्रो स्थानमा आएको पर्वत गुरुकुल एकेडेमीले ९ स्वर्ण, ७ रजत र ७ कास्य गरी २३ पदक, तेस्रो स्थानमा आएको नमुना आवासीय माध्यमिक विद्यालयले ७ स्वर्ण, ११ रजत र ७ कास्य गरी २४ पदक तथा सान्त्वना स्थानमा आएको शिवालय माध्यमिक विद्यालयले ५ स्वर्ण, १० रजत र १० कांस्य गरी २५ पदक जितेको थियो ।





