बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आठौँ पर्वत महोत्सव पुस ९ देखि हुने

आठौँ पर्वत महोत्सव पुस ९ देखि हुने

गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशका लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापन रहेको छ ।


  • संजय रेग्मी
  • मंसिर १६ २०८२, मंगलबार

पर्वत/पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा हरेक तीन वर्षमा आयोजना हुँदै आएको पर्वत महोत्सव यस वर्ष आयोजना हुँदै छ । वाणिज्य सङ्घको पर्वत शाखा स्थापना भएको स्वर्ण वर्ष समेत रहेको अवसरमा पुस नौ गतेदेखि १९ गतेसम्म आठौँ पर्वत महोत्सवका आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर बी. पौडेलले बताए ।

महोत्सवका बारेमा जानकारी दिन सोमबार उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने नाराका साथ यस वर्षको महोत्सव आयोजना गर्न लागिएको बताए । गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशका लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापन रहेको छ ।

यस्तै जिल्लामा रहेका कला, संस्कृति, खेलकुद, ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन गराई जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि महोत्सवको लक्ष्य रहेको छ ।

गण्डकी प्रदेशका लघु तथा घरेलु उद्योगहरूबाट उत्पादित सामग्रीहरूको बजारीकरण तथा कोसेली घरको व्यवस्थापन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, लोकसंस्कृतिको रक्षा गर्ने, गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा सघाउने, स्थानीय बजारको सुरक्षाको लागि सी.सी. क्यामेरा जडान गर्ने, खेलकुद मैदानलाई व्यवस्थापन गर्ने उद्देश्य महोत्सवमा राखिएको अध्यक्ष पौडेलले बताए ।

महोत्सवका मुख्य गतिविधिहरूमा शान्ति तथा सद्भावका लागि स्थानीय संस्कृतिमा आधारित झाँकी तथा ¥याली प्रदर्शन, विद्यालय स्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, विभिन्न जातजातिका झाँकी प्रस्तुत, लप्सीका खाद्य परिकारहरूको प्रदर्शनी तथा बिक्री, विभिन्न उपभोग्य बस्तुहरूको बिक्री, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, जिल्ला स्तरीय भलिबल, दौड तथा छेलो फाल्ने प्रतियोगिता, टिकटक च्यालेन्ज, सुन्तला खाने प्रतियोगिता लगायत रहेका छन् ।

झन्डै दुई सय ५० ओटा ‘स्टल’हरू रहने तथा करिब एक लाख दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्ने अनुमान गरिएको महोत्सवमा आकर्षणका रूपमा औद्योगिक प्रदर्शनी, स्थानीय कलाकारहरूका प्रतिभा, स्थानीय स्वादका स्थानीय परिकार, प्रदेशका पर्यटकीय स्थलहरूको बारेमा जानकारी, हस्तकलाका सामग्रीहरू सहित पर्वतलाई चिनाउँदै आएको लप्सीबाट बनेका विभिन्न परिकारहरू, प्रशोधित जडीबुटी, कृषि तथा पशुजन्य उत्पादन लगायत रहेका छन् ।

महोत्सवमा ‘स्टल’ राख्ने पर्वत उद्योग वाणिज्य सङ्घका सदस्य, लघु, घरेलु तथा महिला उद्यमीहरूले २५ प्रतिशत छुटमा ‘स्टल’ भाडामा लिन पाउने छन् ।

महोत्सवको ११ दिनको अवधिमा करिब एक करोड २९ लाख रुपैयाँ आम्दानी हुने र करिब २० लाख रुपैयाँ भन्दा बढी रकम बचत भएर उद्योग वाण्ज्यि सङ्घसँग रहने अनुमानित आयव्यय विवरण आर्थिक व्यवस्थापन उपसमितिले बताएको छ । मुख्य गरी टिकट बिक्रीबाट ३० लाख, ‘स्टल’ भाडाबाट १५ लाख, मुख्य प्रायोजकबाट १५ लाख, रमाइलो मेलाबाट १५ लाख, प्रायोजकबाट १० लाख आम्दानी हुने अनुमान छ । यस्तै मुख्य खर्चमा ‘स्टल’ तथा महोत्सव स्थल निर्माणमा २० लाख, खेलकुद, झाँकी तथा सांस्कृतिक प्रतियोगितामा १२ लाख, कलाकार तथा अतिथि व्यवस्थापनमा ३० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->