बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्यटकलाई स्वागत गर्न आतुर छ तोरीपानी

पर्यटकलाई स्वागत गर्न आतुर छ तोरीपानी

मौलिक कला र संस्कृतिको प्रदर्शनीका साथै स्थानीय उत्पादन उपहार तथा बिक्रीको प्रबन्ध


  • हरिकृष्ण गौतम
  • मंसिर १८ २०८२, बिहिबार

म्याग्दी/ हिमालका दृष्यहरु आँखै अगाडी ठोकिन्छ । गाउँको शिरानमा बाइसे–चौबीसे राज्य रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको राजधानी ढोल्ठान छ । पौराणिक स्थल पुलहाश्रम जगन्नाथ मन्दिर, डढेकोट दरबार, केभहिल सजिलै जान सकिन्छ ।

जिल्लाको प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी, पर्यटकीयस्थल टोड्के, विश्वकै सातौं अग्लो धौलागिरी हिमालको बेसक्याप सहित रघुगंगा गाउँपालिकाका सुन्दर बस्तीहरूमा जाने धौलागिरी सेञ्चुरी पदमार्गको रुटसमेत पर्छ । म्याग्दीको टिम्बुरको राजधानी, प्रकृतिले त्यति धेरै सुन्दरता दिएको बेनी नगरपालिका–९ तोरीपानीमा पहिलोपटक पर्यटकलाई स्वागत गर्न घरबास (होमस्टे) सञ्चालन भएको छ । घुम्न आउने पर्यटकलाई लक्षित गरी पाँच घरमा सामुदायिक रुपमा सञ्चालन गरिएको घरबासको हालै उद्घाटन गरिएको छ । बेनी नगरपालिकामा पहिलोपटक औपचारिक रुपमा घरबासको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले नगरभित्र पर्यटकीयस्थलमा घरबास सञ्चालनका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । ‘घुम्न आउने पर्यटकलाई होमस्टे चाहिन्छ, भकिम्लीमा पनि हामीले होमस्टेका लागि सहयोग गरेका छौँ, अन्य पर्यटकीयस्थलमा पनि पर्यटकलाई बोलाउन पहिला बस्ने र खानेको उचित ब्यवस्था आवश्यक छ,’मेयर केसीले भने ।

मेयर केसीले होमस्टेमा आउने पर्यटकलाई आयातित नभइ अर्गानिक कृषि उपजको स्वाद दिलाउन, राम्रो सत्कार गर्न सकेमा पर्यटक भित्र्याउन सजिलो हुने बताए । इको हिमाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणमा पाँचवटा घरमा २१ जना क्षमताको घरबास सञ्चालन भएकाले पर्यटकको चापसँगै गाउँमा थप होमस्टे विस्तार गरिने सयपत्री सामुदायिक घरबास समूहकी अध्यक्ष सीता खत्रीले बताइन् । सयपत्री सामुदायिक घरवास समूहलाई दुई लाख र पाँच घरलाई ७० हजारका दरले आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ । घरबासमा आउनेलाई स्वागत तथा मौलिक कला र संस्कृतिको प्रदर्शनीका साथै स्थानीय उत्पादन उपहार तथा बिक्री गरिने छ ।

होमस्टे सञ्चालन अगाडी इको हिमाल काठमाडांैले उत्कृष्ट घरबास कार्यक्रम भएका स्थानहरुको भ्रमणसहित परिकार बनाउने तालिम सञ्चालन समेत गरेको थियो । तोरीपानीका जुना खत्री, रश्मी चोखाल, सुजता चोखाल, युव गिरी र भगवान श्रेष्ठको घरमा घरबास कार्यक्रमको मापदण्ड अनुसारको संरचना तयार गरिएको इको हिमालका निर्देशक नारायण ढकालले जानकारी दिए । घरवास सुभारम्भ कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले म्याग्दीका हरेक बस्ती पर्यटकीयस्थल भएकाले तोरिपानीको होमस्टेले मौलिकता जोगाउँदै सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, इको हिमाल अष्ट्रियाका अध्यक्ष कुर्ट लुगर, वडाध्यक्ष चक्र केसी, डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत चन्द्रमणी सापकोटा,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले होमस्टेमा लगानी अनुसारको प्रतिफल तथा बजारीकरणमा सहयोगको प्रतिबद्धता समेत जनाएका थिए । होमस्टे उद्घाटन कार्यक्रममा पुगेका पर्यटकलाई अतिथिलाई स्थानीयबासीले भब्य स्वागत गरेका थिए । समूहका अध्यक्ष खत्रीको अध्यक्षता, इब गिरीको स्वागत र उषा पाइजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->