आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

पर्यटन व्यवसायको पुनरुत्थान गरेको सडक महोत्सव

पर्यटन व्यवसायको पुनरुत्थान गरेको सडक महोत्सव


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०८२, शुक्रबार

पाेखरा/ पाेखरा सडक महोत्सवको २७ औं संस्करणको तयारी तिब्र पारिएको छ । पोखराको पर्यटन प्रबद्र्धन र व्यवसाय चलायमान बनाउँदै आएको सडक महोत्सव आगामी पुसको १३ गतेबाट सुरु हुने भएको छ ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) को आयोजनामा पोखराको फेवाताल किनारमा हुने महोत्सवमा सडकमै रमाइलो गर्ने र खाने गरिन्छ । रेवानले महोत्सवबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक वसन्त गौतमले महोत्सव पोखराकै ब्रान्ड बनेको बताए ।  रेवान अध्यक्ष विश्वराज पौडेलले पोखराका पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने साधक बनेको बताए । विभिन्न समयमा आएका संकटले पर्यटनमाथि प्रभाव पारेको सुनाउँदै भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि थप संकटमा परेको अवस्थामा सडक महोत्सवले पुनः जीवन्त पार्नेमा आशावादी रहेको बताए । कुनै समय अंग्रेजी नयाँ वर्ष मनाउनकै लागि पर्यटक भारतको गोवा र थाइल्याण्ड जाने परम्परा थियो । उक्त परम्परालाई तोड्दै पोखरामा सडक महोत्सव सञ्चालन गरेको उनले सुनाए ।

‘कहिले राजनीतिक अस्थिरता र आन्दोलनको सकस, कहिले भूकम्पको पीडा, त कहिले कोरोना महामारीको सन्नाटा । फेरि अहिले जेन–जी आन्दोलन । यी सबै हाम्रा सामु पहाड बनेर उभिए । यद्यपि यस्ता विषम परिस्थिति र संकटका बावजुद दीगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउन हामी निरन्तर लागेका छौं,’उनले भने, ‘हरेक संकटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र पोखरा सुरक्षित तथा खुला छ भन्ने सन्देश विश्वसामु प्रवाह गर्न यो महोत्सवले सञ्जीवनीको भूमिका खेल्यो । यही निरन्तरताको जगमा आज हामी २७ औं संस्करणको संघारमा उभिएका छौं ।’

लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा महोत्सवको आयोजना हुँदै आइरहेको छ । ‘सडकमै खाऊँ, सडकमै नाचौं, सडकमै रमाऊँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको कार्यक्रम संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले सुनाए ।गौ तमका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन,लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरु समावेस गरिने छ । सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् । त्यस्तै, महोत्सव अवधिभरमा पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीका विषय केन्द्रीत अन्र्तक्रिया कार्यक्रम पनि हुने संयोजक गौतमले बताए ।

रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनका अनुसार महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने छ । रेवान पोखराका पूर्वअध्यक्ष नरेश भट्टराईका अनुसार महोत्सवको अवसरमा पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तब्यको प्रवद्र्धनन गरिने छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा सडक महोत्सवको आयोजना रेवान पोखराले गरेपनि यो महोत्सव सबैको साझा महोत्सव भएको बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले महोत्सव अवधिभर खानामा गुणस्तर कायम गर्दै बस्ने र खाने कुराको मूल्य आकासिने गरेको गुनासो हरेक वर्ष आउने गरेकाले यस वर्ष विशेष निगरानी राख्न सुझाव दिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महोत्सवलाई सफल बनाउन पोखरेली पत्रकारको सहयोग रहने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->