बागलुङ/गत कात्तिक २१ देखि २८ गते सम्म मानवसेवा आश्रम संचालनकालागि आयोजना भएको श्रीमद भागवत ज्ञान बिज्ञान महायज्ञमा ९ करोड ७७ लाख ७२ हजार ६१ रुपैयाँ संकलन भएको छ । महायज्ञ सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो ।
शनिवार पत्रकार सम्मेलन गरेर महायज्ञ आयोजक समितिले उक्त जानकारी गराएको हो । पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार महायज्ञमा नगद, चेक र क्युआर मार्फत ७ करोड ६९ लाख १७ हजार १ सय ७५ रुपैयाँ प्राप्त भएको हो भने विभिन्न व्यक्ति र संस्थाले प्रतिवद्दता गरेको १ करोड ९० लाख ८४ हजार ६ सय ६० रुपैयाँ रहेको हो । बिशेषगरी सरकारी निकाय, स्थानीय तह समेतले १ करोड २९ लाख ४१ हजार प्रतिवद्दता आएको हो । त्यस बाहेक व्यक्तिहरुले २५ लाख १० हजार रुपैंयाँ बराबरको प्रतिवद्दता आएको हो ।
महायज्ञमा राखिएका दानपेटिकाबाट ९ लाख ९४ हजार ३ सय ६५ रुपैयाँ संकलन भएको यिो । संकलित रकम मध्ये अक्षयकोष शिर्षकमा ३० लाख ४७ हजार, भवन निर्माण शिर्षकमा ५ करोड ६ लाख र महायज्ञ व्यवस्थापन शिर्षकमा २ करोड ३४ लाख जम्मा भएको थियो ।
यसैबीच बागलुङ कालीका भगवती मन्दिरको व्यवस्थापन समितिले मंसिर १ गतेदेखि आगामी असार मसान्तसम्म पार्किङ शुल्क उठाउने जिम्मा पनि आश्रमलाई नै दिएको छ । उक्त रकम पनि भवन निर्माणमा प्रयोग गरिने सहमति भएको छ ।
महायज्ञ मार्फत १० करोडको अक्षयकोष बनउाने लक्ष्य राखिएको छ । महायज्ञ व्यवस्थापन समितिका सहसंयोजक तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार महायज्ञमा कुल ९ करोड ७७ लाख रकम संकलन भएको, महायज्ञ अबधिभर ८१ लाख ३७ हजार खर्च भएको र हाल ८ करोड ९१ लाख ४८ हजार रुपैयाँ बचत भएको बताएका छन् । महायज्ञमा भागवत भास्कर कमलनयन गौतमले कथा प्रवचन गरेका थिए भने बिहान योग शिविर, बिद्यार्थीकालागि उत्प्रेरणा कार्यक्रमपनि संचालन गरिएको थियो ।
हाल आश्रममा ६६ जना आश्रित छन् । भवन बनेर अक्षयकोष पनि संचालनमा आएमा बानपा ४ को निरयघाटमा निर्माणाधिन आश्रममा २ सय जना आश्रितलाई राख्ने व्यवथापन मिलाइने छ । १३ बर्ष अघि हेटौडाबाट स्थापित भएको आश्रम अहिले देशको २७ जिल्लामा स्थापना भैसकेको छ । पत्रकार सम्मेलनमा समितिका संयोजक सहदेव राजभण्डारीले महायज्ञको सफलताले आश्रम संचालनमा सहज भएको बताएका थिए ।
यसैबीच बडिगाड गाउँपालिका वडा नंं २ को खरवाङस्थित त्रिभुवन माविमा संचालन गर्न लागिएको महायज्ञको अन्तिम तयारी गरिएको छ । विद्यालयलाई बहु प्राविधिक बनाउन आइतवारदेखि महायज्ञ लगाउन लागिएको हो । महायज्ञ सफल पार्न १ हजार १ सदस्य रहेको मुल आयोजक समिति बनाइएको संयोजक बिष्णु भुषालले बताए ।
महायज्ञ संचालन हुनु अघिसम्म स्थानीय दाताबाट १ करोड बराबर रकम संकलन भैसकेको छ । महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञकालागि पंडित दिनबन्धु पोखरेलले कथा वाचन गर्नेछन् ।





