बागलुङ/धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले जोशीलाई सीईओ पदमा नियुक्त गरेको हो ।
२०६३ चैत्रबाट छिमेक लघुवित्तमा फिल्ड सहायकबाट लघुवित्त सेवामा प्रवेश गरेका जोशीले, २०६६ मा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभाग, २०६७ देखि २०७५ साउन २ गते सम्म तत्कालीन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभागमा प्रमुख भई कार्य गरेका जोशीले २०७५ श्रावण देखि २०७६ मंसिर २२ सम्म कालिका लघुवित्त वित्तीय संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । धौलागिरी लघुवित्तमा २०७६ मंसिर २५ गतेदेखी नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत जोशी २०८१ मंसिर १७ गतेबाट कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए ।
करिब २ दशक लामो समय लघुवित्त क्षेत्रमा कार्यरत रहेका उनी एक अनुभवी बैंकर हुन । उनी प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधीनमा रही धौलागिरी लघुवित्तका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र सेयर होल्डरहरूलाई यथोचित प्रतिफल प्रदान गर्ने विश्वास सञ्चालक समितिले लिएको छ ।
नियुक्ति पश्चात जोशीले मुलुककै पुरानो, प्रतिष्ठित मध्येको एक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए ।





