बागलुङ/आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा वार्षिक लक्ष्यको १६ दशमलब ८१ प्रतिशत कर संकलन गरेको छ ।
आर्थिक वर्षभरी कुल १ अर्ब ४३ करोड ३४ लाख कर संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो चौमासिकमा २४ करोड ५ लाख ४७ हजार संकलन गरेको हो ।
पहिलो चौमासिकको लक्ष्यमा भने ६५ प्रतिशत मात्रै कर संकलन गर्न कार्यालय सफल भएको छ । जेनजी आन्दोलनको कारण व्यवसायमा आएको गिरावट लगायत चाडपर्वले कर संकलनमा कमी भएको कार्यालयले जनाएको छ ।
कार्यालयले पहिलो चौमासिकमा आयकरतर्फ ११ करोड ९२ लाख ३१ हजार रुपैयाँ, बहाल करतर्फ ९ लाख ५० हजार, व्याजतर्फ ३ करोड ५६ लाख ९१ हजार र मुल्य अभिवृद्दि करतर्फ ५ करोड ५३ लाख ४१ हजार रुपैयाँ कर संकलन भएको प्रमुख कर अधिकृत कपिल सिलवालले जानकारी दिए । त्यस बाहेक बागलुङमा अन्तशुल्कतर्फ २ करोड ६९ लाख ३९ हजार रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ९९ प्रतिशत हो । त्यस बाहेक स्वास्थ्य कर तर्फ २३ लाख ९४ हजार संकलन भएको छ ।
पछिल्लो समय ठूलो कारोवार गर्ने सहकारीले बागलुङमा तिर्दै आएको कर पोखरास्थित ठूलो कार्यालयमा तिर्न थालेका छन् । यो क्रमले कर संकलनमा कमी अंक देखिएको सूचना अधिकारी राजनमणी शर्माले जानकारी दिए । उनका अनुसार आयकरमा साना व्यवसायीलाई छुटको स्किम दिंदा अघिल्लो वर्ष कर संकलन बढी भएको थियो । यो वर्ष त्यो स्किम नभएर केही व्यवसायी कर तिर्न ढीला गरिरहेका छन् । त्यस बाहेक बिदाको दिन पनि कर कार्यालय नियमित संचालन गरेर राजश्व संकलनको काम गरिएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा बागलुङमा १ अर्ब ७ करोड ६६ लाख रुपैयाँ कर संकलन भएको थियो । १ अर्ब २२ करोड ३९ लाख संकलन गर्ने लक्ष्यको ८८ प्रतिशत संकलन गरेको कार्यालयले यो वर्ष १ अर्ब ४३ करोडको लक्ष्य पच्छ्याई रहेको हो ।
संकलित करमध्ये सबैभन्दा धेरै आयकरबाट संकलन हुने गरेको छ । गत आवमा आयकरबाट मात्र ६० करोड १० लाख रुपैयाँ कर संकलन भएको हो । त्यस बाहेक व्याज करबाट १० करोड ४१ लाख, भ्याटबाट २९ करोड ७४ लाख, अन्तशुल्कबाट ५ करोड ८५ लाख, बहालकर बापत १ करोड ५३ लाख र शैक्षिक करबाट ५ करोड ८५ लाख संकलन भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ म १ अर्ब २० करोड संकलन गर्ने लक्ष्यमा कार्यालयले ८० प्रतिशत अर्थात् ९६ करोड ६७ लाख रुपैयाँ मात्रै कर संकलन गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी कर संकलन गरेको कार्यालयले यो वर्ष पनि लक्ष्य बढाउने रणनीतिमा छ । कर संकलन बढ््नुमा करको दायरा फराकिलो बन्दै जानु भएको सरोकारवालाले बताएका छन् । पछिल्लो समय व्यवसायिक पान र अन्तशुल्क समेत बढ्दै गएकोले कर संकलनमा पनि सुधार भएको हो ।
पछिललो समय ५० करोड सम्मको आय भएका लघुवित्तहरु माथिल्लो तहमा कर तिर्न जान थालेका छन् । लघुवित्तहरु जिल्लामै रहुन्जेल आर्थिक वर्ष २०७६÷७७ मा ९९ करोड ९७ लाख संकलन गरेर १ सय ३ प्रतिशत र आर्थिक वर्ष २०७७÷०७८ मा १ अर्ब ९ करोड कर संकलन गरेर यहाँ १ सय २६ प्रशित प्रगती भएको थियो ।
कार्यालयले गतवर्ष ८२ वटा सूचकमा २२ वटा करदाता शिक्षा अभियान चलाएर एकै वर्षमा २ हजार १ सय २३ आयकर र १ सय ९ वटा भ्याट दर्ता गराएको थियो । त्यस्तै एकै वर्षमा ७ हजार ७ सय ४७ व्यक्तिगत र १ हजार ९ सय १७ अन्तशुल्कमा करदाता थप भएका छन् । बागलुङमा २५ हजार व्यवसायिक करदाता छन् ।





