पोखरा/ नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले बुधवारदेखि पोखराबाट ढोरपाटनसम्मलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । आन्तरिक पर्यटनको प्रवद्र्धनको उद्दे्श्यका साथ बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुुर्गादत्त दाहालले जानकारी दिए ।
कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा क्रियाशील विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहित ४५ जनाको सहभागिता रहेको छ । प्रवद्र्धन टोलीलाई पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पदान समितिका संयोजक गोपिबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने लगायतले पोखराबाट औपचारिक विदाई गरे ।
कार्यक्रम अन्तर्गत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बुधवारै बाग्लुङमा कास्कीको घान्द्रुक, बाग्लुुङ, म्याग्दी र पर्वतका यातायात सम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम प्रदान गरिने संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्यले बताए । उनका अनुसार ढोरपाटनमा शुक्रबार त्यहाँका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका साथै आन्तरिक पर्यटनको विकास सम्बन्धमा छलफल एवम् अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । प्रवद्र्धन टोली २६ गते पोखरा फर्कने आयोजकले जनाएको छ ।





