बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एक्यापको ३९औँ वार्षिकोत्सव भुजुङमा

एक्यापको ३९औँ वार्षिकोत्सव भुजुङमा


  • ढाेरपाटन संवाददाता
  • मंसिर २६ २०८२, शुक्रबार

लमजुङ / अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को ३९औँ वार्षिकोत्सव तथा स्थापना दिवस क्व्होलासोथार गाउँपालिका ४, भुजुङमा सम्पन्न भएको छ। एक्याप इलाका संरक्षण कार्यालय भुजुङले आयोजना गरेको कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, एक्यापका अधिकारी, सामुदायिक संस्थाका पदाधिकारी, विद्यार्थी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले संरक्षण र विकास एक–अर्काको परिपूरक भएको उल्लेख गर्दै संरक्षणमा सबैको समान सहभागिता आवश्यक रहेको बताए। उनले एक्याप र स्थानीय सरकारबीच कानुनी अधिकारसम्बन्धी केही मुद्दामा उत्पन्न मतभेद चाँडै टुंग्याइने विश्वास व्यक्त गर्दै संरक्षणमै दिगो विकासको आधार रहेको धारणा राखे।  मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले नागरिकको सक्रियता र चासोले संरक्षण अभियानमा ठूला उपलब्धि दिलाउने उल्लेख गर्दै राजनीतिक दल, कर्मचारी, प्रशासकदेखि सामान्य नागरिक सबै एक ठाउँमा उभिनुपर्ने बताए।

एक्याप प्रधान कार्यालय पोखराका आयोजना प्रमुख डा. रविन कडरियाले एक्यापले संरक्षणसँगै स्थानीयको आयआर्जनमा टेवा पुग्ने कार्यक्रमलाई समेत प्राथमिकतामा राख्दै आएको जानकारी दिए। संरक्षणलाई मजबुत बनाइए मात्र विकास सम्भव हुने भन्दै उनले संरक्षणमा स्थानीय समुदायको बराबरको जिम्मेवारी रहने स्पष्ट पारे। कार्यक्रममा एक्याप भुजुङका कार्यालय प्रमुख प्रमोदराज रेग्मी, मर्स्याङ्दी गाउँपालिका–९ का वडाध्यक्ष हरिश्चन्द्र थापा, संरक्षण क्षेत्र व्यवस्थापन समिति पसगाउँका अध्यक्ष चन्द्रप्रसाद गुरुङलगायत वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

भुजुङस्थित युम्पो विकास आमा समूहले संरक्षणमूलक गीत तथा नृत्य प्रस्तुत गर्दै वातावरण संरक्षणको सन्देश फैलाएको थियो भने लालीगुराँस युवा क्लबका कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरे। त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयका विद्यार्थीले संरक्षणका विषयमा कविता प्रस्तुत गरी कार्यक्रमलाई झनै सशक्त बनाएका थिए। कार्यक्रममा वडा कार्यालय भुजुङ, पर्यटन व्यवस्थापन समिति भुजुङ, त्रिभुवन मावि भुजुङ, भुजुङ स्वास्थ्य चौकी साथै एक्याप भुजुङ अन्तरगत ८ वटै संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई सम्मान गरिएको थियो ।

संरक्षण क्षेत्र व्यवस्थापन समिति भुजुङका अध्यक्ष खिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वडाध्यक्ष नारायण गुरुङले राखेका थिए। कार्यक्रमको सञ्चालन एक्याप भुजुङका पर्यटन सहायक बृजबहादुर गुरुङले गरेका थिए। स्थानीय सहभागिता, सांस्कृतिक प्रस्तुतिहरू र संरक्षणप्रतिको प्रतिबद्धतासहित सम्पन्न भएको एक्यापको ३९औँ वार्षिकोत्सवले भुजुङ गाउँलाई उत्सवमय बनाएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->