पोखरा/ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पोखरामा ५ वर्षदेखि निर्माण हुन नसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल भवनको आइतबार निरीक्षण गर्दै भवन निर्माणमा भइरहेको ढिलाईप्रति चासो व्यक्त राखेका छन् ।
२०७७ माघमा २० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा ५ वर्षको यो अवधिमा जम्मा ५१ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको जनाइएको छ । मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफलसमेत गरे । सहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन भवनको लागत १० करोड ५५ लाख रुपैयाँ (कर बाहेक) रहेको छ ।
अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्यसंग जोडिएको संवेदनशील संरचना निर्माणमा ढिलाइ भएकोप्रति आक्रोश व्यक्त गर्दै घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए । उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनीसमेत दिए । एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन उनले दिए ।
प्रतिष्ठानका उपकूलपति प्रा.डा. भरतबहादुर खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेकाले तत्काल भवन निर्माण गरिनु पर्ने र गर्न नसकेमा ठेक्का तोडी नयाँ प्रक्रियामा जानु पर्ने बताए ।





