पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख एवं हालका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक विनेश मुनकर्मीविरुद्ध अस्वभाविक रुपमा सम्पत्ती कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
मुनकर्मीबिरुद्ध करिब अढाई करोड रुपैयाँ विगो कायम गरी, त्यसअनुसार जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्तिबाट बढेको रकम जफत गर्ने मागसहित अख्तियारले मंगलबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
अख्तियारले पोखरा विमानस्थल बनाउन भएको ठेक्का सम्झौतासम्मको ‘भ्रष्टाचार’ मा ५ पूर्वमन्त्री र ९ पूर्वसचिवसहित ५६ विरुद्ध मुद्दा दायर गरिसकेको छ । विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन समितिको निष्कर्षपछि अख्तियारले निर्माणमा भएको यही हिनामिनामाथि अनुसन्धान थालेको छ ।





