बागलुङ/भारतीय पर्यटकको रोजाइमा पर्न सक्ने यहाँको शालिग्राम संग्राहलय र कालीका भगवती मन्दिरको महत्वबारे पर्यटकलाई जानकारी दिइएको छ । दोश्रो नेपाल भारत पर्यटन प्रवद्र्दनात्मक भ्रमण अभियानमा आउको विभिन्न क्षेत्रका पर्यटन व्यवसायीलाई बुधवार बागलुङ कालीका र शालिग्राम संग्राहलय घुमाइएको हो ।
पोखरा पर्यटन परिषदको अगुवाईमा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, पर्यटन बोर्ड समेतले बागलुङ नगरपालिका र नगर पर्यटन समितिको सहकार्यमा भ्रमण कार्यक्रम गरेको हो । यो अभियानको बुधबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गरे ।
उक्त अवसरमा पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गरेर मात्र चिनाउन सकिने बताए । ‘हामीलाई सामान्य लाग्ने स्थान विदेशी पर्यटकलाई महत्वपुर्ण लाग्छन्’ बस्यालले भने, ‘हामीले दिने सभ्यता र सुसस्कारले पर्यटक आर्कषित गर्न सकिन्छ ।’ बागलुङ कालीका मन्दिर र शालिग्राम संग्राहलय स्थानीयलाई सामान्य जस्तो लागे पनि पर्यटकका लागि महत्वपुर्ण निधी भएको उनले बताए ।
कार्यक्रममा बागलुङ नगर पर्यटन समितिका अध्यक्ष राजु खड्काले बागलुङलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल गरेमा भारतीय पर्यटक अधिकतम बढाउन सकिने बताए । त्यसकालागि कालीका भगवती गुठी, शालिग्राम संग्राहलय र पञ्चकोटले बनाउने योजना र आतिथ्यता नै महत्वपुर्ण हुने बताए । त्यस बाहेक गलकोट, ढोरपाटन र बलेवा भैरव लगायतका स्थानपनि पर्यटक आर्कर्षित गर्ने स्थान भएको उनले बताए ।
भ्रमण अभियानको पहिलो चरणमा भारतका प्रसिद्द पर्यटन व्यवसायी, सिनेकर्मी र सामामाजिक संजाल तथा भल्गर संचालक आएका हुन् । उनीहरुलाई शालिग्राम संग्राहलयमा ऋषि प्रपन्नाचार्यले स्वागत गर्दै संग्राहलयको महत्व बुझाए । उनले दक्षिण भारतका नागरिकले पुजा गर्ने शालीग्रामलाई संग्रह गरिएको बिषय उठान गर्दै बिष्णु भगवानका सबै अबतारको रुप नै शालिग्राम भएको बताए । संग्राहलयमा १ लाख १५ हजार बढी शालिग्राम संग्रह गरिएको छ । भ्रमण गरिसकेपछि टोलीका अगुवा अनिरुद्द रावलले अदभुत संग्रह देखेर खुसी लागेको बताए ।
यो अभियानलाई पोखरा पर्यटन परिषदका महासचिव जीवन राज सापकोटाले अगुवाई गरेका थिए । पोखराको अभियानमा आएको टोलीलाई धौलागिरि क्षेत्र र गण्डकी प्रदेशका सबै स्थान देखाउन लागिएको बताए । टोलीले पर्वतको मोदीवेणी धाम, पोखराको बेगनास, तनहुँकोा बन्दीपुर समेत भ्रमण गरेका थिए । चितवन समेत घुमेको टोलीले पोखराका अन्य स्थान पनि घुम्ने छ ।
कालीका भगवती गुठीका उपाध्यक्ष निसान खड्काले कालीका मन्दिरमा स्वागत गरेका थिए भने पर्यटन अन्तरक्रियामा पत्रकार किरण आचार्यले बागलुङका पर्यटकीय गन्तव्य बारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल, बागलुङ होटल व्यवसायी संघका अध्यक्ष निलेस राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य र पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले पनि जिल्लाको पर्यटन संभावना तथा अहिलेको अबस्था र भावी योजनाबारे समेत जानकारी गराएका थिए । त्यस अघि ईला कम्फटले पनि होटलमा स्वागत गर्दै पर्यटन व्यवसायमा नयाँ फड्को मार्न लागेको बागलुङ बारे जानकारी गराइएको थियो ।





