बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘सडक कालोपत्रे होइन, सेतोपत्रे गरौं’

‘सडक कालोपत्रे होइन, सेतोपत्रे गरौं’


  • लालप्रसाद शर्मा
  • पुष ४ २०८२, शुक्रबार

पोखरा/ अव नेपालमा सडक बिटुमिन प्रयोग गरी कालोपत्रे गर्ने नभई सिमेन्ट प्रयोग गरी कंक्रिट सडक अर्थात सेतोपत्रे बनाउनु पर्ने शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघद्वारा आयोजित सिमेन्ट कंक्रिट सडक प्रविधिको डिजाइन र निर्माण विषयक एकदिने तालिमका सहभागीले यस्तो बताएका हुन् ।

दिगो, सुरक्षित तथा दीर्घकालिन सडक पूर्वाधार विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । नेपालमा सिमेन्टका कच्चा पदार्थको उपलब्धता, प्राविधिक जनशक्ति तथा निर्माण क्षमताको विकाससँगै कङ्क्रिट सडक प्रविधि अपनाउने उपयुक्त वातावरण तयार भइसकेको दावी उनीहरुको थियो । विशेषगरी कम सवारी चाप भएका सडक, शहरी सडक, औद्योगिक क्षेत्र, बसपार्क, चोक तथा अत्यधिक लोड सहनुपर्ने सडक खण्डहरूमा कंक्रिट सडक प्रभावकारी हुने उनीहरुले बताए ।

संघका अध्यक्ष रघुनन्दन मारुले सडक अव कालोपत्रे नभई सेतोपत्र बनाउनु पर्ने बताए । कालोपत्रेका लागि प्रयोग हुने बिटुमिनको आयात कम गर्ने, नेपाली उत्पादनलाई बढावा दिनुपर्नेमा उनले जोड दिए । ‘बिटुमिन ८ देखि १२ वर्षसम्म मात्रै टिक्ने तर कंक्रिट सडक भने ३० देखि ४० वर्षसम्म टिक्ने भएकाले यसमा जोड दिनुपर्छ’, मारुले भने, ‘कंक्रिट रोड बनाउन नयाँनयाँ प्रविधिको विकास पनि भइरहेको छ । छिमेकी मुलुकहरु भारत र चीनमा कंक्रिट रोड बनिरहेका छन । अव नेपालमा किन नबनाउने ।’ सघले यस्तो कार्यक्रम गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गरेको र अन्य प्रदेशमा पनि गर्दै जाने उनले बताए ।

सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजंग थापाले नेपालमा कंक्रिट सडक र सान्दर्भिकताबारे बोल्दै करीव १ लाख किलोमिटर सडक निर्माण भएकोमा १४ हजार किमीमामत्रै कालोपत्रे भएको बताए । ३० देखि ४० हजार किलोमिटर तत्कालै कालोपत्रे गर्नुपर्ने र यो भएमा मात्र विकासको लक्ष्यमा पुग्न सकिने उनको भनाई थियो । कंक्रिट सडक दिगो हुनुका साथै वैदेशिक मुद्रा बचाउने र सबै मौसममा सञ्चालनमा आउने बताए । ‘सुरुमा महंगो देखिए पनि वर्षौ टिक्ने भएकाले पटकपटक मर्मत गर्नुपर्ने अवस्था नरहने हुँदा कंक्रिट सडक सस्तो पर्न जान्छ’, उनले भने, ‘सिमेन्टबाट सडक निर्माण गर्ने सरकारको नीति रहे पनि कार्यान्वयन हुन सकेको छैन् । सस्तो बेसाहाले पखाला लाग्छ भनेझै हामीले सुरुमा प्रयोग गरेको केही प्रविधि काम लागेनन् ।’ गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले साढे ११ अर्बको बिटुमिन आयात गरेको तथ्यांक पेश गर्दै उनले यसको आयातलाई ५० प्रतिशतमा झार्नुपर्नेमा जोड दिए ।

कास्कीको माछापुछ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले कंक्रिट सडक टिकाउ हुने भएकाले यसलाई ग्रामीण सडकमा व्यापक गराउनु पर्ने बताइन् । थोरै रकम कबोल गर्नेलाई योजनाको ठेक्का दिने नीति नै गलत भएको भन्दै उनले यसले गुणस्तरको काम हुन नसकेको उल्लेख गरिन् । ‘भूगोल नमिलेकाले पालिकाहरुले सेतो पत्रमै जोड दिनुपर्ने अवस्था छ’, उनले भनिन्, ‘हामीले देखेकै छौ, पिच भन्दा ढलान बढी टिकेको छ ।’ संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय कास्कीका सुपरिन्टेन्डेन्ट इन्जिनियर नरेन्द्र सुवेदीले योजनाको बजेट कम हुँदा सडक कंक्रिट गर्ने काम सोचेजति अघि बढ्न नसकेको बताए । केही लाख र करोडको बजेटले सडक ढलान गर्न नसकिने अवस्था रहेको उनको भनाई थियो ।

नेपाल सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष ई.ध्रुव थापाले नेपाल पछिल्लो एक दशकदेखि नेपाल सिमेन्टमा आत्मनिर्भर भएर निर्यातसमेत हुन थालेको बताए । नेपालमा सडक बनिरहेको छ । राजमार्गबाहेक ग्रामीण सडक ठूलो संख्यामा छन् । तर कमजोर गुणस्तरले कालोपत्रे गरेको २/३ वर्ष पनि नटिकेको र यसको दोष इन्जिनियरलार्य दिइने भन्दै कंक्रिट सडक बनाए टिकाउ हुने र कसैलाई दोष दिनु नपर्ने उनले बताए । ‘कंक्रिट सडक लामो समयसम्म टिकेर पैसा पनि नेपालमै रोकिने भएकाले देशमै उत्पादन हुने सिमेन्ट सडक निर्माणमा पनि प्रयोग गरी सडकको गुणस्तर कायम राख्नु पर्छ’, उनले भने, ‘यसले देशलाई ठूलो फाइदा हुन्छ ।’

चुनढुंगा प्रशस्त रहेकाले सिमेन्ट उत्पादन बढाउन सकिने भन्दै उनले अहिले नेपालमा वार्षिक १७/१८ करोड बोरा सिमेन्टको माग रहेको बताए ।स वार्षिक ५० करोड बोरा उत्पादन गर्ने क्षमता भए पनि पछिल्लो समय विकासको गति घट्दो क्रममा रहेकाले सिमेन्टको माग पनि घटीरहेको उनको भनाई थियो । सन् २०१८ मा ३० करोड बोरा सिमेन्ट नेपालमा खपत भएको तथ्यांक उनले दिए । अहिले भारततर्फ थोरै मात्रामा भए पनि निकासी भइरहेको र कुटनीतिक पहल भए निर्यात क्षमता अझै बढ्ने विश्वास उनको थियो । ‘वार्षिक डेढ सय अर्बको सिमेन्ट निर्यात गर्न सकिने अवस्था छ । यसले व्यापार घाटा काम गर्न सकिन्छ’, उनले भने, ‘भारतीय भन्दा नेपालको सिमेन्ट गुणस्तरीय छ ।’

इन्स्टिच्युट फर प्रोफेसनल ट्रेनिङ एन्ड म्यानेजम्यान्ट नेपाल (आइपीटीएम) को सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो । आइपीटीएमका कार्यकारी निर्देशक ई.चुमनबाबु श्रेष्ठले नेपालको भौगोलिक अवस्था, मौसमीय प्रभाव, बढ्दो सवारी चाप तथा बिटुमिन आयातमा निर्भरता न्यूनिकरण गरी पर्याप्त मात्रामा स्वदेशमा उत्पादन हुने सिमेन्ट कंक्रिट सडक प्रविधि प्रभावकारी विकल्पका रुपमा स्थापित हुँदै गएको सन्दर्भमा तालिमको आयोजना गरिएको बताए । सडक पूर्वाधार देशको समग्र सामाजिक–आर्थिक विकासको प्रमुख आधार बनेको र हाल नेपालमा करिब ९० प्रतिशतभन्दा बढी मालसामान तथा यात्रु ढुवानी सडक यातायातमार्फत हुँदै आएको उनको भनाई थियो । ‘तर, अत्यधिक वर्षा, कमजोर रूपग्रेड माटो, बढ्दो सवारी चाप तथा भारी ढुवानीका कारण सडकको दिगोपनामा चुनौती उत्पन्न भइरहेको छ’, उनले भने, ‘परम्परागत रूपमा बिटुमिन प्रविधिमा सडक निर्माण गर्दै आइएको छ । तर बिटुमिन आयातमा निर्भरता, मर्मत–सम्भार लागत वृद्धि, छोटो सेवा आयु तथा जलवायु परिवर्तनका प्रभावका कारण वैकल्पिक र दिगो समाधानको आवश्यकता दिनप्रतिदिन महसुस हुँदै गएकाले सिमेन्ट कंक्रिट सडक दीर्घकालीन, कम मर्मत आवश्यक पर्ने तथा वातावरणमैत्री प्रविधिका रूपमा महत्वपूर्ण विकल्पको रूपमा लिइएको हो ।’

कार्यक्रममा कंक्रिट सडकको आवस्यकता, प्रकार, डिजाइन सिद्धान्त, निर्माण प्रक्रिया, जोइन्ट तथा रिइनफोर्समेन्टको भूमिका लगायत विषयमा प्रस्तुती र अनुभव आदानप्रदान गरिएको थियो । विशेष गरी कम सवारी चाप भएका सडक तथा शहरी सडकमा कंक्रिट सडक प्रविधिकिो प्रयोग र यसको दीर्घकालिन लाभबारे छलफल गरिएको थियो ।  सरकारी निकाय, प्राविधिक, परामर्शदाता, निर्माण व्यवसायी तथा सरोकारवालाहरुको तालिममा सहभागिता रहेको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष अरुणकुमार कर्णले धन्यवाद दिएका थिए । नेपालमा ६५ वटा सिमेन्ट उद्योग रहेको र ती उद्योगबाट वार्षिक २ करोड ५० लाख टन सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि ३० देखि ४० प्रतिशतसम्म मात्रै उत्पादन हुँदै आएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->