आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

लेखनाथ महोत्सवमा घन्कियो ‘रत्यौली’

लेखनाथ महोत्सवमा घन्कियो ‘रत्यौली’

रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने पराजुली बताउँछन् ।


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८२, शनिबार

लेखनाथ/नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो ।

जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष एवं वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले बताए । रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने पराजुली बताउँछन् ।

मेला महोत्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसको संरक्षणमा टेवा पुग्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पुर्वअध्यक्ष शिवहरि ढुंगानाले बताए । रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एकथरी महिलाले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने ढुंगानाले वताए । उनका अनुसार रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक बनाउने छ । यो गीत गाउँदा एउटी महिला नर्तकीका रूपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छन् । पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन रहेको छ ।

रत्यौली गीत आफैँ रोचक हुन्छ भने नर्तकहरूको नृत्य र अभिनयले रत्यौली गायनस्थललाई निकै रमाइलो बनाउने गर्दछन । महोत्सवको स्टेजमा नौमती बाजासहितको प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाइदा पुग्ने नभएर सिङ्गो लोक संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्त्व बुझाउन सहयोग पुग्ने महिला विशेष कार्यक्रमकी संयोजक प्रतिक्षा रानाभाटलेजानकारी दिइन । पुसको महिनामा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले भने विवाहको जस्तै पञ्चेबाजाको साथमा बेहुला र बेहुली नै बनाएर विवाह कै जस्तो भल्को दिने गरि रत्यौली गीतलाई स्थान दिएको थियो ।

महोत्सवको थप आर्कणको रुपमा रहेको रत्यौली प्रस्तुत गर्नको २० वटा समुह पहिलो चरणबाट छनोट भएकामा शुक्रबार नमुना कृषक आमा समुह पोखरा–२६, भरतपोखरी विश्वकर्मा समाज महिला पोखरा–३३ र सरस्वती सामुदायिक महिला समुह पोखरा–३३ ले रत्यौली प्रस्तुत गरेका थिए भने शनिबार गायत्री आमा समुह पोखरा–३२ ले रत्यौली प्रस्तुत गर्नेछ ।

यस्तै, महोत्सवको विद्यालयस्तरीय कार्यक्रम अन्र्तगत शुक्रबार सरस्वती टिका मावि, ओएसिस सेकेण्डरी स्कुल, ज्ञानकुञ्ज विद्याश्रम, सिर्जना बहिरा मावि, अमरसिद्ध नमुना माविको प्रस्तुती रहेको थियो भने शनिबार ४ वटा विद्यालयहरुको प्रस्तुती रहेको विद्यालयस्तरीय कार्यक्रम व्यवस्थापन समितिका सदस्य अर्जुन प्रसाद आचार्यले जानकारी दिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मुल नाराका साथ पुस ३ गतेबाट लेखनाथमा शुरु भएको २१औँ संस्करणको लेखनाथ महोत्सवको दोश्रो दिन ११ हजार दर्शकहरुले अवलोकन गरेका छन भने ४० लाख बराबरको कारोबार भएको महोत्सवका प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।

शुक्रबार लोकदोहोरी कलाकारहरु,घनश्याम रिजाल, कुमार पुन, कृष्णा गुरुङ, शिवहरी ढुंगाना, मञ्जु विक, केशव देवकोटा, गगन गुरुङ, अमृता हमाल लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाइभ कन्सर्टमा स्थानिय ब्याण्डहरुको प्रस्तुती रहेको थियो ।

शनिबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, मिरा पोखरेल, शान्ता बर्देवा, मधु थापा मगर, गगन गुरुङ र शिवहरी ढुंगानाले प्रस्तुती दिनेछन । हाँस्यव्यग्यतर्फ राजेन्द्र गिरी(गुन्द्रुके) र बेलुका सुगम संगिततर्फ रचना रिमाल र डेभीड शंकरले प्रस्तुती दिने कलाकार संयोजक भरत कुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->