बागलुङ/महिला हित बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । महिला मात्रै १ हजार ३ सय ३४ जना शेयर सदस्य रहेको सहकारीले अझै एक घर एक महिला शेयर सदस्य बनाउने अभियानमा अगाडि बढ्ने निष्कर्षसहित साधारणसभा सम्पन्न गरेको हो ।
२०५८ सालमा एक सय रुपैयाँको दरले २५ जना संस्थापकले २ हजार ५ सय रुपैैयाँ संकलन गरेर थालेको सहकारी संस्थाले २४ वर्षमा पुग्दा २ करोड ९० लाख शेयरपूजि पु¥याएको छ । त्यसबाहेक २६ लाख ३६ हजार रुपैयाँ सहकारी बैंकलगायतका संस्थामा शेयर लगानी समेत गरिसकेको छ ।
विशेषगरी दलीत, पछाडि पारिएका महिला, मजदुर, गृहिणी र ज्यालामजदुरीबाटै बालबालिका पढाउनुपर्ने बाध्यतामा रहेका महिलालाई एकत्रित गरेर यो सहकारी अगाडि बढेको अध्यक्ष लिलादेवी खड्काले बताइन् । मजदुरी गरेर ल्याएको पैसा जोगाएर घर धान्ने बनाउन महिलालाई मात्रै सहकारीमा आवद्ध गरिएको खड्काले बताइन् । महिला मात्रै यतिधेरै संख्यामा शेयर सदस्य रहेर बनेको सहकारी जिल्लामै पहिलो समेत हो ।
यो सहकारीले १० करोड ५३ लाख ७४ हजार बचत संकलन गरेको छ भने १० करोड ७१ लाख २१ हजार् रुपैयाँ ऋण लगानी गरेको छ । त्यस बाहेक आगामी दिनमा बचत र ऋण बढाउने तथा आम महिलालाई व्यवसायिक र उत्पादनशिल बनाउन ऋण प्रवाह गर्ने लक्ष्य राखेको छ । त्यसका लागि सशक्तीकरण अभियानमा पनि सहकारीले नियमित काम गरेको खड्काले जानकारी दिइन् ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य खड्गकुमारी खड्काले सहकारीको जन्म हुँदाको सास्ती बिर्साउने गरी बचत र ऋण मात्र बढाउने काम नगरी आत्मनिर्भर बनाउने काममा पनि साथ दिएको बताइन् । उनले सहकारी छ भन्ने आडभरोसा सबैलाई दिलाएको बताइन् ।
सहकारीले हरेक शेयर सदस्य सुत्केरी हुँदा वा घरपरिवारमा दुःख पर्दा भेट्न जाने, सहयोग गर्ने र उत्पादनशिल काममा लगाउन ऋण प्रवाह गर्ने काम गरिरहेको छ । यो अभियानले महिलाहरुले सहकारीलाई नै माइतीको रुपमा लिन थालिसकेको सहभागिले बताए ।
साधारणसभामा सहकारी अभियान्ता रामबहादुर जिसीले सहकारी अनुशिक्षण दिंदै हरेक शेयर सदस्य उत्पादनमा जोडिनुपर्ने बताए । साथै सहकारी प्रतिको नकारात्मक हावा चलेको बेला सहकारीलाई बचाउने, समयमा ऋण तिर्ने र सहकारीको सुरक्षा गर्ने काम पनि शेयर सदस्यले गर्नुपर्ने बताए । उनले बचत थुप्रिंदा पनि सहकारी घाटामा जाने भन्दै ऋण शतप्रतिशत उठाउने अभियानमा लाग्नुपर्ने तथा खराव ऋण भएमा कर्जा सूचना केन्द्रमा जानकारी दिनुपर्ने सुझाव पनि दिए ।
सहकारी संस्थाकी अध्यक्ष लिलादेवी खड्काको अध्यक्षता, कोषाध्यक्ष पम्फा किसानको स्वागत र सचिव सावित्री केसीको संचालनमा सम्पन्न कार्यक्रममा दर्जनबढी शेयर सदस्य, उत्कृष्ट कारोवारी, बाल बचत, अभियान्तालाई सम्मान गरियो ।
त्यस्तै सहकारीमा आएका नयाँ बुहारीको स्वागत र सम्मान पनि गरिएको थियो । सहकारीले यो अभियानलाई संस्कृतिको रुपमा बिकास गर्दै आएको छ । कार्यक्रममा सल्लाहकार लक्ष्मी बास्कोटा, लक्ष्मी देवी जिसी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, मानवसेवा आश्रम बागलुङकी व्यवस्थापक बिपना तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सचिव सावित्री केसीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पम्फा किसानको आर्थिक प्रतिवेदन पारित गरियो ।
साधारणसभाले लिलादेवी खड्काकै अध्यक्षतामा नयाँ समिचि चयन गरेको छ । समितिको उपाध्यक्षमा बिद्यालक्ष्मी खड्का, सचिवमा पम्फा किसान र कोषाध्यक्षमा बिष्णु खत्री चयन भएका छन् । सदस्यमा कमला खड्का, अम्बिका केसी, सरिता रायमाझी, सुभद्रा आचार्य गौतम, लक्ष्मी किसान चयन भएका छन् । लेखा समितिको संयोजकमा साबित्री केसी र सदस्यमा शान्ता अधिकारी पौडेल र नानुमाया शाक्य चयन भएको निर्वाचन अधिकृत लक्ष्मीदेवी जिसीले बताइन् ।





