पोखरा/एक्काइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । महोत्सवको रौनक बढेसँगै विभिन्न व्यवसायमा संलग्न स्टलवालाहरू उत्साहित देखिएका छन् ।
विशेषगरी कृषि क्षेत्रका जैविक उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, माछा तथा फलफूलको व्यापारमा उल्लेखनीय वृद्धि भएको स्टल सञ्चालकहरूले बताएका छन्। महोत्सव अवलोकनका लागि आउने दर्शक तथा उपभोक्ताहरूले स्थानीय तथा जैविक उत्पादनप्रति चासो देखाउन थालेपछि यस्ता स्टलहरूमा घुइँचो लागेको देखिन्छ ।
महोत्सव स्थलमा स्टल नं. २८ मा मुस्ताङ जिल्ला चाहेर गाउपालिका वडा नं. ९ की ५० वर्षीया पासाङ आयो पहिलोपटक लेखनाथ महोत्सवमा सहभागी भएकी हुन् । पहिलो सहभागितामै व्यापार राम्रो भएपछि उनी निकै उत्साहित देखिन्छन् । उनले जिम्बु, टिमुर, विरेनुन, जाइफल, हर्रोलगायतका विभिन्न प्राकृतिक जडीबुटी बिक्री गर्दै आएकी छन् ।
उनका अनुसार महोत्सवमा जडीबुटीको माग बढ्दो छ र दैनिक करिब १५ हजार रुपैयाँ बराबरको नगद कारोबार भइरहेको छ । स्थानीय तथा शुद्ध प्राकृतिक उत्पादन खोज्ने ग्राहकको संख्याले आफूलाई थप हौसला दिएको उनको भनाइ छ ।
त्यसैगरी स्टल नं. ३५ मा रहेको शीतल जडीबुटीका सञ्चालक तथा पोखरा महानगरपालिका वडा नं. ३१ निवासी वैद्य जयबहादुर थापा विगत २१ औँ संस्करणदेखि निरन्तर रूपमा लेखनाथ महोत्सवमा सहभागी हुँदै आएका छन् । उनले यस वर्ष पनि महोत्सवबाट लाखौँ रुपैयाँ बराबरको व्यापार भएको जानकारी दिए ।
थापाका अनुसार चौटा जोर, कुरिलोको जरा, हर्रो, बर्रो, सिखारीको लहरालगायतका जैविक जडीबुटीहरू विशेषगरी महिला ग्राहकको रोजाइमा परेका छन्। स्वास्थ्यप्रति सचेत उपभोक्ताको बढ्दो आकर्षणले जडीबुटी व्यवसायलाई थप बल पुगेको उनले बताए ।
महोत्सवमा कृषि तथा जडीबुटीमात्र होइन, स्थानीय खाद्य तथा माछा व्यवसाय पनि फस्टाएको देखिन्छ । स्टल नं. ९ मा रहेको बेगनास माछा पसलका सञ्चालक नारायण नेपालीले विभिन्न स्थानीय जातका ताजा माछाको दैनिक करिब ६० हजार रुपैयाँ बराबरको बिक्री भइरहेको बताए ।





