पोखरा/ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले लामो समयदेखि निष्क्रिय रहेका १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । म्याग्दी, पर्वत र स्याङ्जा जिल्लाका विभिन्न सहकारीहरुको दर्ता खारेज भएको कार्यालयले सूचनामार्फत जनाएको छ ।
गण्डकी प्रदेश सहकारी ऐन, २०७५ अनुसार लगातार दुई वर्षसम्म कारोबार नगरी निष्क्रिय रहेका संस्थाहरूलाई खारेजीको प्रक्रियामा लगिएको हो । सहकारी रजिष्ट्रार भेषराज रिजालका अनुसार विधिपूर्वक सूचना जारी गर्दा पनि सुधार नभएका र सञ्चालनमा आउन नसकेका संस्थाहरू खारेज गरिएको हो । कार्यालयले गत असार १५ गते नै निष्क्रिय रहेका सहकारीहरूलाई ३५ दिने सूचना जारी गरेको थियो ।
कतिपय संस्थाले आफैँ खारेजीका लागि निवेदन दिए भने कतिपयको स्थलगत मुचुल्काका आधारमा पुस ७ गतेको निर्णयअनुसार दर्ता खारेज गरिएको रजिष्ट्रार रिजालले बताए । ‘संस्था खारेज भए पनि त्यसको दायित्वबाट सञ्चालकहरू उम्कन पाउने छैनन्,’ उनले भने, ‘दर्ता खारेज भएका सहकारीले तिर्नु बुझाउनुपर्ने कुनै दायित्व भए त्यसको जिम्मा सञ्चालक र पदाधिकारीकै हुन्छ ।’ सेयर सदस्य वा अन्य सरोकारवालाको कुनै लिनुदिनु बाँकी भए सम्बन्धित संस्थाका पदाधिकारीसँग सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।
खारेज भएका सहकारीहरु
कार्यालयले खारेज गरेका १० सहकारीमध्ये सबैभन्दा धेरै स्याङ्जाका छन् । स्याङ्जाको गल्याङ नगरपालिकाभित्र सञ्चालित ८ वटा सहकारीको दर्ता खारेज भएको छ । जसमा गल्याङ–७ को भावना कृषि सहकारी संस्था र करुणा मौरीपालन सहकारी संस्था तथा गल्याङ–११ को खरीपानी मौरीपालन सहकारी संस्था छन् ।
त्यस्तै, गल्याङ–९ का पकवादी मौरीपालन सहकारी संस्था र गौरवशील अदुवा उत्पादक सहकारी संस्थाको पनि दर्ता खारेज भएको छ । गल्याङ–८ मा सञ्चालित परिश्रमी मौरीपालन सहकारी संस्था, अलकादेवी मौरीपालन सहकारी संस्था र सौर्यपानी अदुवा उत्पादक सहकारी संस्था पनि खारेजीमा परेका छन् ।
यसैगरी, म्याग्दीको बेनी नगरपालिका–७ (साविक अर्थुङ्गे–२) मा रहेको उपभोक्ता सहकारी संघ लिमिटेड र पर्वतको मोदी गाउँपालिका–२ (साविक देउपुर–९) मा रहेको देउपुर मौरीपालन कृषक सहकारी संस्था लिमिटेडको समेत दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ ।





