बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०८२, मंगलबार

म्याग्दी/ जिल्लाको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँका अनुसार २ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते निर्माण कम्पनीले १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको योजनाको ताकम खण्डमा करिब ९ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएकाले ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ ।

६ किलोमिटर दूरीमा सडकलाई फराकिलो बनाउने, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नतिको कामले गति लिएपछि स्थानीयवासी उत्साहित भएका धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए । ८ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ ।

यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (७ किमी) र मच्छिम–मुना (४ किमी) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए । गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको जुग्जालीले बताए । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघि नै सडक निर्माण भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->