आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

लेखनाथ महोत्सवमा इलम गर्नेका कुरा

लेखनाथ महोत्सवमा इलम गर्नेका कुरा

कार्यक्रममा विभिन्न उद्योगका प्रतिनिधिहरूले आफ्ना व्यावसायिक यात्रा, संघर्ष र सफलताका कथा सुनाएका थिए ।


  • ढाेरपाटन संवाददाता
  • पुष ९ २०८२, बुधबार

पोखरा/लेखनाथमा जारी २१ औँ संस्करणको लेखनाथ महोत्सवको छैटौँ दिन मंगलबार उद्योग बहस कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव सुनाउनुका साथै समस्या र निराकरणका विषय चर्चा गरिएको थियो ।

कार्यक्रममा विभिन्न उद्योगका प्रतिनिधिहरूले आफ्ना व्यावसायिक यात्रा, संघर्ष र सफलताका कथा सुनाएका थिए । कर्माचार्य ग्रुपका विक्रम कर्माचार्यले व्यावसायिक परिवारमा जन्मिएकाले सानै उमेरदेखि व्यवसायप्रति आकर्षित भएको बताए । उनले १३–१४ वर्षकै उमेरमा नेपाली उत्पादनहरू जस्तै टुथपेस्ट, मेची चिया, मायालु साबुन र सोल्टी साबुन बिक्री गरेको अनुभव स्मरण गरे । खुला सीमाका कारण नेपाली व्यवसायमा परेको असर अनुभूत गरेपछि स्वदेशी उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्दै बजारीकरणमा लागेको उनको भनाइ थियो ।

यस्तै, दिप आइसक्रिमकी सञ्चालक पम्फा देवकोटाले ‘म कर्म गर्न सक्छु र कर्म गरेरै अगाडि बढ्छु’ भन्ने दृढ इच्छाका साथ व्यवसायमा लागेको बताइन् । उनले निरन्तर मिहिनेत, आत्मविश्वास र कर्मचारीको साथले आफ्नो व्यवसाय अघि बढ्दै गएको अनुभव सुनाइन् ।

मनकामना प्लाइउड कम्पनीका सञ्चालक नारायण प्रसाद वास्तोलाले सानो समिलबाट सुरु गरेको व्यवसाय प्लाइउड उद्योगसम्म आइपुग्दा विभिन्न चुनौती झेल्नु परेको बताए । नेपाल वन पैदावारसम्बन्धी कानून अभावले व्यवसाय सञ्चालनमा समस्या आएको उनको भनाइ थियो ।

गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महराज ढकालले उद्योग प्रवद्र्धनका लागि अनुदानको सीमा बढाउनुपर्ने आवश्यकता औँल्याए । डीपीआरमै ठूलो खर्च हुने हुँदा धेरै योजना अलपत्र पर्ने अवस्था आएको उल्लेख गर्दै अनुदानलाई निश्चित दायराभित्र ल्याउने प्रयास भइरहेको जानकारी दिए । साथै, प्रदेशका गौरवका रूपमा रहेका औद्योगिक क्षेत्रको विकासका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।

स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई उत्साहित बनाउने उद्देश्यसहित आयोजना गरिएको लेखनाथ महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । आयोजकका अनुसार महोत्सवको छैटौँ दिन मंगलबार मात्रै करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् । आर्थिक कारोबारतर्फ दैनिक करिब १ करोड रुपैयाँ बराबरको कारोबार भएको महोत्सव प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->