पोखरा/लेखनाथमा जारी २१ औं संस्करणको लेखनाथ महोत्सवस्थल किनबेचको केन्द्रबिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारिक केन्द्र बनेको हो ।
दर्शकहरुले केही न केही सामग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीको दावी छ । महोत्सवमा राखिएका करिव तीन सय ३६ फरक÷फरक प्रकृतिका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने भएपछि उपस्थित दर्शकहरु खुसी हुदै आफुले खोजेको र रोजेको सामान सुपथ मुल्यमा पाएको गफ गर्दै फर्केका देखिन्छन् भने ब्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापारको क्रम बढेकाले सन्तुष्ट रहेको बताएका छन् ।
महोत्सवमा स्वदेशमा नै उत्पादित वस्तुको विक्रि केन्द्र रहेकाले उपभोक्ताले प्रत्यक्ष रुपमा उत्पादकसँग सामान लिन पाउने भएकाले सहुलियत मुल्यमा सामानको विक्रि वितरण भईरहेको छ ।
पुस १४ गतेसम्म चल्ने महोत्सव सातौं दिनमा चलिरहदा बुधवार मात्र ६० लाख वरावरको आर्थिक कारोवार भएको र अहिलेसम्म ६ करोड ८० लाख बरावरको कारोवार भएको दावी गरिएको छ । बुधवार एकैदिन १७ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म एक लाख ९० हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिए ।
यसैविच महोत्सवको सातौं दिन कलाकारहरु रामजी खाँड,कृष्ण सुवेदी,जगत पौडेल,पार्वती जि सी, रिया÷रतिमाया खड्का, बिन्दा परियारले प्रस्तुती दिएका थिए भने बेलुका कन्सर्टमा गायक अर्जुन सापकोटा, सहिमा श्रेष्ठ लगायत स्थानिय कलाकारहरुको प्रस्तुतीले स्टेज तताएको थियो ।
गाडीदेखि गार्मेन्टसम्म र माछादेखि महसम्म एकै ठाउमा पाईने भएपछि उत्पादक र उपभोक्ताको संगमस्थलका रुपमा महोत्सवलाई लिईएको छ ।





