म्याग्दी/सुन्तलाको आम्दानीबाट म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली मरेककी ७२ वर्षीया कर्णकुमारी पुर्जा पुनले जिर्ण घर भत्काएर पक्की घर बनाउँदै छन् । गतवर्ष सुन्तला बेचेर १५ लाखसहित आफुँसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रंगरोगन भइरहेको छ । यसवर्ष १० लाखभन्दा बढीको सुन्तला फलेको छ । कर्णकुमारीले फलाएको सुन्तलाको दुई वर्षकोे कमाइबाट घर ठडिन्छ ।
कुनैसमय आर्थिक संकटले गुज्रिएको अवस्थामा घरव्यवहार टार्न सुन्तला रोपेकी कर्णकुमारीको बगैचा अहिले सुनजस्तै पहेँलपूर छ । श्रीमानको निधनपछि जोत्ने हलगोरू, खेताला खोज्न झन्झट लागेर सुन्तला खेती थालेकी कर्णकुमारीले एक दशक यता घरमै आउने व्यापारीलाई सुन्तला बेचेर हजार नभइ लाख हात पार्छिन् । परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० बर्ष अगाडी केही थान बिरूवा ल्याएर खेती थालेकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर १६ सय कमाएकी थिइन् । कर्णकुमारीले सुन्तलाबाट सय, हजार हुँदै १५ लाखसम्म हात पारेकी छन्। ।सुन्तला बगंैचा १० रोपनीमा फैलिएको छ ।
कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निरास भएपनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैंचामै बित्ने गरेको छ । ‘बुढेकालमा पनि सुन्तलाको माया धेरै लाग्छ, मलाई अति दुःख पर्दा सुन्तलाको कमाइले काम गरेको छ, बिरामी हुँदा प मेरो औषधि पनि यही हो,’उनले भनिन् । गतवर्षको तुलनामा कम फले पनि उत्पादनबाट सन्तुष्ट रहेको कर्णकुमारीले बताइन् । २०६७ साल चैत्र महिनामा आंतकारीको आक्रमणबाट अफगानिस्तानमा रहेका श्रीमानलाई गुमाएकी कर्णकुमारीले सुन्तलाको कमाइले छोरीहरूको शिक्षा–दीक्षा,विवाहलगायतका घरायसी खर्चसँगै बचतसमेत गरेकी छन् ।
‘आफ्नो संसार उजाडिएपछि मलाई बाँच्न सुन्तलाले सिकाएको छ, सुन्तलाले आर्थिक रुपमा बलियो बनाएको छ,’ कर्णकुमारीले बेनीअनलाइनलाई भन्नुभयो । सन्तानलाई जस्तै मायाँ गरी हुर्काएका बोटको अम्दानीबाट सन्तुष्ट कर्णकुमारीले सुन्तलाको रेखदेखका गर्दागदै धेरै रात बगैचामै बितेको छ ।
मरेकका अगुवा कृषक पदमबहादुर खत्रीले कर्णकुमारीले पुरुषको तुलनामा सुन्तलाबाट कमाउने गरेको बताए । ‘उहाँ गाउँमा सबैभन्ँदा धेरै फलाउने कृषकको रुपमा चिनिनुहुन्छ, घरमा महिला आर्थिक रुपमा बलियो हुँदाको अवस्थाको उदाहरण बन्नुभएको छ,’ उनले भने ।
बाहिरी जिल्लाबाट आएका ब्यापारीले स्थानीय कृषकको बगैंचामा पुगेर टिप्न,बोक्न, ग्रेडिङ गर्न र क्यारेटमा मिलाएर बजारमा लैजाँदा पहिलो रोजाइमा कर्णकुमारीको बगैंचा पर्छ । मरेक र बालम गाउँबाट ३६ जना कृषकले गतवर्ष १ करोड ८० लाख बराबरको सुन्तला बिक्री गरेकोमा यसवर्ष उत्पादन कम भएकाले डेढ करोडको सुन्तला फलेको अनुमान गरिएको छ ।





