बागलुङ/बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सव आजदेखि शुरु हुँदै छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
महोत्सव बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित बाङेचौर खेल मैदानमा हुने भएपनि व्यापारिक कारोबार हुने बागलुङ बजारलाई दुलहीझैं सिंगारिएको छ । बजारका हरेक चोकमा घडा राखेर पाहुनालाई स्वागत गरिएको छ भने ध्वजापतकाले सिंगारिएको छ । स्थानीय व्यवसायीको सक्रियतामा बजारलाई सिंगाएको हो ।
जिल्लाकै ठूलो मेलाको रुपमा लिइने महोत्सवलाई आर्कषक बनाउन संघले विशेष पहल गरेको छ । त्यसका लािग संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा मुल समारोह समिति गठन भएको छ भने अन्य क्रियाकलापलाई दुइ दर्जन उपसमिति बनेका छन् ।
महोत्सवमा २ सय व्यवसायिक स्टल रहने जनाइएको छ । त्यस बाहेक महोत्सवमा कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताका साथ र कृषिको हकमा निशुल्क स्टल दिइने भएको छ । यो पटक महोत्सवमा सुन्तलामय बनाउने लक्ष्य राखिएको छ ।
महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । पुरुषतर्फ गण्डकी प्रदेशका पालिकास्तरीय खेल हुनेछन् । अहिलेसम्म १० टिमले दर्ता गरेर खेलका लागि तयारी गरेको पुरुष भलिबल खेल संयोजक अकिल बहादुर क्षेत्री ‘धु्रव’ले जानकारी दिए । महिला भलिबल संयोजक सृजना राजभण्डारीका अनुसार, गण्डकी प्रदेशस्तरीय महिला भलिबलमा अहिलेसम्म ७ टिम सहभागि जनाउने पक्का भएको छ ।
पुस १६ गते पर्यटन मन्त्रीको उपस्थितिमा बागलुङ पर्यटन सम्बन्धी चर्चा हुने र फोटो प्रदर्शन हुने संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए । यस्तै, महोत्सवमा टिकटक, कथा वाचन प्रतियोगिता जस्ता नवप्रवर्दनात्मक कार्यक्रम पनि समावेश छन् । त्यसका लागि विद्यालयका विद्यार्थीलाई बागलुङको पर्यटन, उद्योगको क्षेत्रको सकारात्मक सन्देश जाने खालका कथा तयारीमा जिम्मा समेत दिइएको छ ।
लोकदोहोरी गीत प्रतियोगिता त महोत्सवको अर्को आर्कषणकै विषय हो । यो पटक खुला लोकदोहोरी गीत प्रतियोगितासहित राष्ट्रिय कलाकारहरुको नियमित प्रस्तुती पनि रहनेछ । अघिल्लो महोत्सवमा लोकदोहोरी प्रतियोगिता नराख्दा ग्रामीण क्षेत्रका दर्शकहरुले आलोचना समेत भएको थियो । अब भने यो समस्या नरहने संघले जनाएको छ ।
बागलुङस्थित बाङेचौरमा गरिने महोत्सवको टिकटबाट बागलुङ उद्योग बाणिज्य संघले मानवसेवा आश्रम, नेपाल पत्रकार महासंघ लगायतलाई सहयोग गर्ने बताएको छ । गत कात्तिकमा भएको महायज्ञमा संघले ५ लाख दिने घोषणा गरेको थियो । महोत्सवबाट रकम बचाएर दिने योजना बनेको संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए ।





