बागलुङ/जिल्लामै सबैभन्दा बढी शेयर सदस्य रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको मुक्तिनाथ सेवा केन्द्रको साधारणसभा सम्पन्न भएको छ । बिहिबार भएको सभाले १६ जना जेष्ठ सदस्यलाई ५ हजार रुपैयाँको दरले सहयोग गरेको छ ।
कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले सहकारीलाई कानून र विधिमा संचालन गरेर प्रदेशकै अब्बल बनाउने बताए । उनले हरेक वर्ष उत्कृष्ट करदाताको रुपमा स्थापित भएको सिवाईसीका शेयर सदस्य पनि उत्कृष्ट बन्ने बताए ।
साधारणसभामा कोषाध्यक्ष सपना पुनको आर्थिक प्रतिवेदन र सचिव दिलहादुर केसीको प्रगती प्रतिवेदन पास गरिएको थियो । मुक्तिनाथ सेवा केन्द्रकी संयोजक सिता शर्माको अध्यक्षता, सहसंयोजक गंगाबहादुर थापाको स्वागत र सचिव दिलबहादुर केसीको संचालनमा सम्पन्न भयो ।
२०६६ चैत २६ गते स्थापना भएको सहकारीमा हाल २६ हजार ९ सय ३२ शेयर सदस्य पुगेका छन् । सहकारीमा ३९ करोड ३९ लाख शेयरपूँजि र १ अर्ब ३६ करोड लगानी रहेको छ । हाल सहकारीले ९४ जना युवालाई रोजगारी समेत दिएको बताइएको छ । सहकारीले उत्कृष्ट कारोवार गर्नेलाई सम्मान पनि गरेको थियो ।





