आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरला नाकाको गेटवे बागलुङ : अध्यक्ष ढकाल

कोरला नाकाको गेटवे बागलुङ : अध्यक्ष ढकाल


  • ढाेरपाटन संवाददाता
  • पुष ११ २०८२, शुक्रबार

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङलाई कोरला नाकाको गेटवे बनाउनुपर्ने बताएका छन् । उनले कोरला नाका संचालन गरेर कालीगण्डकी करिडोर मार्फत चीन र भारतमा व्यवसाय बढाउनुपर्ने समेत बताए ।

आठौं बागलुङ महोत्सवको उद्घाटन गर्न आएका ढकालले शुक्रवार बागलुङले कृषि, घरेलु र अन्य व्यवसायिक उत्पादन गर्ने र पर्यटन प्रवद्र्दन मार्फत चीन र भारतका पर्यटक भित्राउन सक्ने बताए । त्यसकालागि करिडोर बनिसकेकोले कोरला नाका संचालनमा पहल गर्नुपर्ने बताए ।

कालीगण्डकी नदी सहित आसपासका पर्यटकीय क्षेत्रमा पर्यटक भित्राउने, नगदेबाली र कृषि फसलको व्यवसायिक उत्पादन गर्ने कामले आत्मनिर्भर बन्न सकिने बताए । ‘अहिले त जतापनि संभावना देखिन थालेको छ, केवल काम गर्ने हात चाहिएको छ’ ढकालले भने, ‘अब लगानी भित्राउन हामी पहल गर्छौ, तपाईहरु योजना बनाउने र काम गर्न तयार रहनुस् ।’ ५० बर्ष उमेर काटेपछि फुर्सद हुनासाथ बागलुङ आएर यहाँको संभावनाको खोजी गरिरहेको उनले बताए ।

जिल्लाको चिनारी बढाउन उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने र अबसर यही छ भन्ने बनाउनुपर्ने बताए । त्यसकालागि युवा लाई रोजगारी दिने योजना पहिलो प्राथमिकतामा पर्नुपर्ने उनले बताए । पुर्व मन्त्री देवेन्द्र पौडेलले सबै क्षेत्रको साझेदारीले मात्र देश बिकास गर्न सकिने भन्दै जिल्ला बिकासका योजना, व्यवसाय प्रवद्र्दनका खाका स्थानीय रुपमा बन्नुपर्ने बताए ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आँफु जन्मेको माटो र बाटो बिर्सन नहुने भन्दै उद्यमीहरुले आफ्नै माटोमा लगानी गरेमा बागलुङ समृद्द बनाउन धेरै समय नलाग्ने बताए । स्थानीय सरकारको रुपमा बागलुङ नगरपालिकासँग पनि धेरै योजना रहेको भन्दै ती योजना पुरा गर्न समेत लगानी आवस्यक परेको बताए ।

बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले संभावना जिल्ला भित्रै खोज्ने गरी महोत्सव आयोजना गरिएको बताए । उनले मेड इन बागलुङ भनेर बिशेष स्टलहरु राखेको र ती उत्पादनलाई संस्थागत गर्न महोत्सव मार्फत पहल भएको समेत बताए । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षता, महासचिव इन्द्रमणी पौडेल अर्जुन र प्रेस सल्लाहकार सुवास आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, नरबहादुर थाप, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’ र चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ तथा बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले मन्तव्य राखेका थिए ।

महोत्सवमा २ सय बढी व्यवसायि स्टल राखिएको छ । बागलुङमै उत्पादन भएका कृषि तथा घरेलु उत्पादनलाई मेड इन बागलुङ नाम दिएर स्टल समेत निशुल्क दिइएको छ । शनिवार पुरुष भलिबल खेल शुरु हुनेछ भने आइतवार महिला भलिवल शुरु हुने बताइएको छ ।

आठौं महोत्सवमा आठ जना सम्मानित
बागलुङ उद्योग बाणिज्य संघले आठौं महोत्सवको अबसरमा आठ जनालाई सम्मान गरेको छ । संस्थागत तर्फ चितवन उद्योग बाणिज्य संघलाई बाणिज्य सम्मान, कलाकार ठाकुरजंग राजभण्डारीलाई कलासंस्कृति बाणिज्य सम्मान, खेलाडी सुवास भण्डारीलाई खेलाडी सम्मान, गायक तथा संगीतकार शुभराम भारीलाई कला संस्कृति सम्मान गरियो ।

त्यस्तै बागलुङका व्यवसायी सिद्दार्थ मिलन श्रेष्ठलाई आर्थिक बाणिज्य सम्मान, सगरमाथा नाप्ने इन्जिनियर रबिन कार्कीलाई शैक्षिक बाणिज्य सम्मान, भलिबल खेलाडी मिना सुनारलाई खेलाडी सम्मान र मरणोपरान्त सौरन किसोर श्रेष्ठलाई जेनजी सुशासन योद्दा सम्मान गरिएको हो । गत भदौ २३ गतेको जेनजी आन्दोलनमा श्रेष्ठको निधन भएको थियो । मरणोपरान्त उनको परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->