पोखरा / पर्यटकीय राजधानी पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप शुक्रबार सम्पन्न भएको छ। अटोमोबाइल एसोसिएसन गण्डकी, जियोन ओभरल्यान्ड र मोटरभर्स स्पोर्ट्स क्लबको आयोजनामा ड्राइभ टुरिजम र सडक सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले च्याम्पियनसिपको आयोजना गरिएको हो । च्याम्पियनसिपमा ४ महिलासहित ३६ जना कार राइडरको सहभागिता रह्यो ।
मोटर स्पोर्ट्सको प्रमुख विधाका रूपमा रहेको अटोक्रस अन्तर्गत सहभागीले माटो, ग्राभेल वा पिच ट्र्याकमा ‘टाइम(अट्याक’ शैलीमा सकेसम्म छिटो र सटिक रूपमा रेस पूरा गरेका थिए। यस खेलमा राइडरको स्किल र स्ट्राटेजी निकै महत्वपूर्ण हुने बताइएको छ। च्याम्पियनसिपले पोखरामा साहसिक खेल पर्यटनको नयाँ सम्भावना उजागर गरेको आयोजकले जनाएका छन्।
च्याम्पियनसिपको शुभारम्भ गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले साहसिक खेल पर्यटनको प्रवर्धन र विकासमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास जनाए । पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा अझ मजबुत बनाउन निजी क्षेत्र, युवा तथा पर्यटनसँग सम्बन्धित संघसंस्थाको सक्रिय सहभागिता अत्यावश्यक रहेको उनको भनाई थियो । साहसिक खेलमार्फत पोखराको पर्यटनलाई विश्व बजारमा चिनाउन यस्ता कार्यक्रमले सघाउने उनले बताए ।





