पोखरा/चर्चित पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक रेस्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले शुक्रबार पत्रकार सम्मेलन गरि महोत्सवको ९० प्रतिशत तयारी सकिएको जानकारी दिएको छ ।
साढे तीन किलोमिटर क्षेत्रमा सवारी आवागमन रोकेर पाँच दिनसम्म सञ्चालन हुने यो महोत्सवमा खाना, स्वाद र संगीतको मिश्रणमा दर्शक रमाउनेछ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ थिमका साथ सञ्चालन हुने महोत्सवको २७ औँ संस्करण आइतबारदेखि सुरु हुँदैछ ।
पोखराको पर्यटन प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजार विस्तार, लेकसाइडको ब्राण्डिङ तथा आर्थिक गतिविधि बढाउने उद्धेश्यले महोत्सव आयोजना गरिएको रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।
“महोत्सव संस्कृतिजस्तो बनेको छ । यसले अर्थतन्त्र चलायमान बनाउनेछ भने पोखराको प्रचारप्रसार र ब्राण्डिङमा पनि सघाउने छ ।” उनले भने ।
उनका अनुसार कला, संस्कृति र खानाका माध्यमबाट पोखराको पहिचान मजबुत बनाउन महोत्सव प्रभावकारी माध्यमका रूपमा स्थापित भइसकेको छ । महोत्सवमा विभिन्न २२ जातजातीका लोपोन्मुख भेषभूषा तथा सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट, डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगितालगायत विविध कार्यक्रम समावेश हुने महोत्सव संयोजक तथा रेबान पोखराका उपाध्यक्ष वसन्त गौतमले जानकारी दिए ।
महोत्सवकै अवधीमा पर्यटनको विकास, अवसर र चुनौतिबारे अन्तक्र्रिया कार्यक्रम सडकमा नै सञ्चालन गरिनेछ ।
महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने रेबानका महासचिव विरेन्द्र शेरचनले जानकारी दिए ।
सडक महोत्सवमा नै यसपटक दर्शकहरुले रोधी हेर्न पाउनेछन । यसको लागि एउटा समुदाय नै आउने पूर्व अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए । रोधीको सांस्कृतिक चलनलाई व्यावहारिक रूपमा प्रस्तुत गरिने उनले जानकारी दिए ।
महोत्सवमा यस वर्ष न्यू इयर इभको दिन पुस १६ गते एक्स नेपथ्य, उज्जन शाक्य, डिमर्चा, लेकाली, देउराली ब्याण्डको लाईभ प्रस्तुती रहने सांगीतिक उत्सव कार्यक्रम संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार न्यू ईयर ईभ स्पेसलका रुपमा यस वर्ष कार्टुन क्रुजकी भाइरल डान्सर आश्मा विश्वकर्मा र सरोज अधिकारीले छिकिरी, छिकिरी लगायतका गीतहरुमा प्रस्तुती दिनेछन् ।
त्यस्तै, पुस १५ गते तमु समुदायको सांस्कृतिक पर्व ल्होसार विशेष कार्यक्रम हुने उनले जानकारी दिए । उनका अनुसार सो दिन ल्होसार विशेष कार्यक्रमसँगै स्वप्न सुमन, केहर एण्ड द लुङ्गा, चक्र व्याण्डलगायतको लाईभ प्रस्तुती रहनेछन् भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्दराज बज्राचार्य, सन्तोष बस्याललगायतले प्रस्तुती दिनेछन् ।
दिउँसो दिवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।
पुस १४ गते भने अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि विजेता तथा उपविजेताहरुको सांगीतिक प्रस्तुती रहने उनले जानकारी दिए ।
महोत्सवमा सुरक्षाको व्यवस्थापन सुरक्षा निकायसँगको समन्वयमा गरिने र आवश्यक संख्यामा स्वयंसेवक परिचालन गरिने रेबानका निवर्तमान अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । महोत्सवको सुरक्षाको लागि ड्रोन देखि नीजि सुरक्षा कम्पनीबाट सुरक्षाकर्मी समेत मगाइनेछ ।
रेबान पोखराका अध्यक्ष पौडेलले प्रशासनको सहयोग मिले महोत्सवको मूख्य आकर्षणका रुपमा रहेको आतिसबाजी यस वर्ष पनि गरिने बताए ।
“यसले महोत्सवको रौनकता थप्छ, आम सर्वसाधारण र पर्यटकको चासो पनि छ, त्यसैले प्रशासनको सहयोग भए यस वर्ष पनि आतिसबाजी हुन्छ ।” उनले भने ।
महोत्सवमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद प्रवद्र्धकका रूपमा रहेका छन ।
सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरका रूपमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केबलकार, रेड बुललगायत संस्थाहरू सहयोगीमा रहेका छन् । बाह्रखरी मिडिया प्रालि आधिकारिक मिडियाको रुपमा सहकार्य गरेको छ ।





