बागलुङ/गलकोट घर भइ बागलुङ बजारमा बस्नेहरुले स्थापना गरेको बागलुङ गलकोट, बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा उत्कृष्ट बचतकर्ता, जेष्ठ नागरिकलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागिले सहकारीहरु आर्थिक बिकासको मेरुदण्ड भएको बताए । अझै आफ्नो घर छाडेर बजारमा बस्नेहरुका लागि सानो पुजिबाट व्यवसाय गर्न समेत सहकारी आवस्यक पर्ने बताए ।
सहकारीले पनि आर्थिक उर्पाजन हुने तथा रोजगारी सिर्जना र उत्पादनमुखी योजनामा लगानी गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका थिए । सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहकार परिषदका संयोजक प्रा.डा. दिनबहादुर थापाले सहकारीलाई सामुहिक हितमा उपयोग गर्न सकेमा समाजलाई फाइदा पुग्ने बताए । व्यक्तिगत स्वार्थमा सहकारी उपयोग भयो भने त्यो प्रत्युत्पादक बन्ने र सहकारी संस्थानै धरासायी बन्ने बताए । उनले इमेज सहकारी र शिवशिखर सहकारीमा बागलुङबासी धेरै पीडित भएको भन्दै अन्य सहकारीले नियम पालना गरेकै कारण बचाउन सकिएको बताए ।
कार्यक्रममा धौलागिरि बहुमुखी क्यामपसका उपप्राध्यापक धु्रवराज गौतम, शेयर सदस्य कल्पना रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहकारीका अध्यक्ष एलिजा गौतमको अध्यक्षता, सचिव भक्तिराम न्यौपानेको संचालन र उपाध्यक्ष हुमबहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रममा सचिव भक्तिराम न्यौपाने, कोषाध्यक्ष शेरबहादुर खड्का र लेखा समिति संयोजक हरिप्रसाद सुवेदीको प्रतिवेदन अनुमोदन भएको थियो ।
३ सय ५४ जना शेयर सदस्य रहेको सहकारीले आर्थिक बर्ष २०८१÷०८२ को अन्त्यमा १ करोड ६० लाख ९२ हजार शेयर रकम जम्मा गरेको । जुन अघिल्लो वर्षको लक्ष्यको ९४ प्रतिशत हो । त्यस्तै १ हजार ७९ जना बचतकर्ताबाट २ करोड ७५ लाख ७० हजार बचत गरेको र ३ करोड २९ लाख ९० हजार लगानी गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।





