बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले चालु आर्थिक वर्ष २०८१–०८२ मा ८४ करोडभन्दा बढीको कारोबार गरेको छ । मंगलबार सम्पन्न संस्थाको १९ औं वार्षिक साधारणसभामा कोषाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा ८४ करोड ५ लाख ४४ हजार २ सय ६२ रुपैयाँ कारोबार गरेको उल्लेख छ ।
सहकारीले ७३ लाख ६८ हजार ५ सय ३६ रुपैयाँ खुद मुनाफा गरेको सहकारीको आम्दानी ३ करोड ३२ लाख ७३ हजार ८ सय २६ रुपैयाँ र २ करोड ५९ लाख ५ हजार २ सय ९० रुपैयाँ खर्च रहेको छ । सहकारीले आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल कारोबार आयतर्फ १ अर्ब २० करोड १५ लाख ९५ हजार र व्ययतर्फ १ अर्ब १९ करोड ८ लाख पु¥याउने लक्ष्य लिएको कोषाध्यक्ष पौडेलले जानकारी दिए ।
ज्येष्ठ नागरिक सम्मान, सहकारी हित कोष, पोषण भत्ता वितरण, स्वरोजगार कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीले ९ सय ९३ सेयर सदस्य वृद्वि गरी १ हजार २ सय ५० पु¥याउने लक्ष्य लिएको छ । साधारणसभाले सचिव बालकृष्ण शर्माले प्रस्तुत गरेको प्रगति र प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलले सहकारीले आफ्नो नीति नियममा रहेर चल्न सके गरिबी निवारणमा टेवा पुग्ने बताए । केही सहकारीले बद्मासी गर्दा सबै सहकारी एउटै घानमा परेको बताउँदै पौडेलले भने, ‘धेरै सहकारीले उत्कृष्ट कार्य गरेको बताए । सहकारीका सेयर सदस्यहरुले समय समयमा सहकारीका गतिविधिप्रति चासो राख्दै सुझाव समेत दिनुपर्ने पौडेलले भनाई थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार डा. डिल्लीराज गौतम, डा. रामप्रसाद उपाध्याय, लेखा समिति संयोजक महादेव सापकोटा, पूर्व लेखा संयोजक तथा शेयर सदस्य कृष्णप्रसाद आचार्य, सम्मानितको तर्फबाट अगन्धर कँडेल र सेयर सदस्यको तर्फबाट कोपिला कुमारी पुनले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा ज्येष्ठ नागरिकको तर्फबाट भविकला उपाध्याय, लक्ष्मी कुमारी शर्मा, बलवती शर्मा, भुवानी देवी निउरे, मान कुमारी उपाध्याय, चित्रा कुमारी अधिकारी, चन्द्रकली खड्का, टिका बहादुर खड्का, देउरुपा जैसी, पूर्णकली उपाध्यायलाई नगदसहित सम्मान गरिएको थियो ।
यस्तै, संस्थामा उत्कृष्ट बालबचत गर्ने अंकित गौतम, आविष्कार ज्ञवाली, निष्कर्ष जिसी, वासुदेव गौतम, सार्थक आले, सुहाना थापालाई सम्मान गरिएको थियो भने उत्कृष्ट कारोबार गर्ने अमर आदर्श बोर्डिङ स्कुल, अगन्धर कँडेल, इन्द्रा खत्री नेपाली, सरगम थापा पौडेल, ललित बहादुर गौतम, पुतली थापा, यम प्रसाद गौतम, रजीद बेगम, हिरादेवी गौतमलाई पनि सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तोयानाथ गौतमले स्वागत, सचिव बालकृष्ण शर्माले सञ्चालन गरेका थिए ।





