पोखरा/ नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका तत्कालिन अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । पोखरेल नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेतासमेत हुन् ।
पोखराको चर्चित लिचीबारी जग्गा प्रकरणमासमेत मुछिएका मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध समेत यही आरोपमा मुद्धा दायर भएको छ । मुद्धा दायर हुनेहरुमा भूमी आयोग कास्कीका तत्कालिन सदस्यहरु आशबहादुर गुरुङ, उमाकुमारी थापा, सोमबहादुर नेपाली र प्रतिवादी भीमबहादुर बिक रहेका छन् । उनीहरुसंग १ करोड ४० लाख २५ हजार जनही बिगोदावी गरिएको छ ।
तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र विचौलियाबिच भूमी आयोग कास्कीका प्रमुख नियुक्तिमा समेत लेनदेन भएको अडियो सार्वजनिक भएको थियो । त्यतिबेला उनीहरुविचको संवादमा भूमी व्यवस्थामन्त्री बलराम अधिकारीले अर्कैसँग घुस खाई कास्कीको भूमि आयोग अध्यक्ष नियुक्ति गरिसकेको कुराकानी बाहिरिएको थियो । त्यही कुराकानीमा आधारमा पोखरेल सहित भूमी आयोग कास्कीका तत्कालिन सबै पदाधिकारीहरु भ्रष्टाचार मुद्धामा परेका हुन् ।
पोखरा महानगरपालिका–२६ लेखनाथस्थित (साविक कास्की जिलला कन्धाीडाँडा गाविस–४) सामूदायिक अमरज्योती आधारभूत विद्यालयको कित्ता नम्बर ७२५ को ३ रोपनी ३ आना जग्गा भूमी आयोगले नक्कली सुकुम्बासीको नाममा दर्ता गरेको अख्तियारले आरोप लगाएको छ । अख्तियारले गैरसुकुम्बासीलाई झुटा विवरणका आधारमा सुकुम्बासी बनाएको देखिएको आरोप लगाएको छ । प्रतिवादी भीमबहादुर विकले आफ्नी पत्नी सुकुमाया कामीको नाममा जग्गा लिएको भन्दै अख्तियारले एक करोड ४० लाख रुपैयाँ हानीनोक्सानी भएको दावी गरेको हो । बिकले विगतका भूमी आयोगले निर्णय गरी काम बाँकी रहेको जग्गा आफ्नो नाममा पाउँ भनि आयोग कास्कीमा निवेदन दिएका थिए । तर उनको नाममा लेखनाथमा जग्गा भएको थाहा पाए पनि उनलाई सुकुम्बासीको हैसियतमा उनलाई जग्गा दिइएको थियो । सुकमायाको नाममा एक रोपनी ५ आना २ पैसा २ दाम क्षेत्रफलको जग्गा रहेको अख्तियारको अनुसन्धानमा खुलेको थियो । उनलाई २०८० चैत ५ मा मालपोत कार्यालय कास्कीका तत्कालिन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीबाट प्रमाणित गराई जग्गा धनी पूर्जा उपलब्ध गराएका थिए ।





