बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा महानगरको राजस्व प्रणालीमा समस्या आएकाले कर छुटको अवधि बढाउन वडाध्यक्ष बरालको माग

पोखरा महानगरको राजस्व प्रणालीमा समस्या आएकाले कर छुटको अवधि बढाउन वडाध्यक्ष बरालको माग


  • ढाेरपाटन संवाददाता
  • पुष २० २०८२, आइतबार

पोखरा / पोखरा महानगरपालिका–१३ का वडा अध्यक्ष किरण बरालले महानगरको राजस्व प्रणालीमा देखिएको समस्या समाधान गर्न र कर छुटको समयावधि थप गर्न माग गर्दै महानगरमा ज्ञापनपत्र बुझाएका छन्।

महानगरपालिकाद्वारा कर संकलनका लागि प्रयोगमा ल्याइएको ‘सूत्र रेभिन्यू मोडल’ पटक पटक बिग्रँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको उनले जनाएका छन् । उल्लेख गर्दै उनले गत शुक्रबार प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन्। राजस्व प्रणाली अवरुद्ध हुँदा कर तिर्न आएका सेवाग्राही लामो समयसम्म प्रतीक्षा गर्न बाध्य भएको र कतिपय अवस्थामा कर नतिरी फर्किनुपर्ने अवस्था सिर्जना भएको बरालको भनाई छ ।

व्यस्त जीवनशैलीका बाबजुद राष्ट्रलाई स्वेच्छिक रूपमा कर तिर्न आउने नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने अवस्था दुखद र चिन्ताजनक रहेको ज्ञापनपत्रमा छ। प्रविधिमा आधारित सेवा प्रवाहलाई सहज र भरपर्दो बनाउनुपर्नेमा बारम्बार प्रणाली अवरुद्ध हुनु चुनौतीका रूपमा रहेको बरालको भनाई छ । साथै राजस्व प्रणाली अवरुद्ध हुँदा सेवाग्राहीको समय खेर जानुका साथै महानगरपालिकाप्रतिको विश्वासमा समेत नकारात्मक असर परेको उनले जनाएका छन् ।

‘राजस्व प्रणालीलाई सरल, छिटो, छरितो र नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन महानगर प्रशासनसँग माग गर्दछु’, वडाध्यक्ष बरालले भनेका छन्, ‘सेवाग्राहीमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाह नै पोखरा महानगरको पहिचान बन्नुपर्छ ।’ उनले राजस्व छुटको समयावधि थप गर्न समेत अनुरोध गरेका छन्। हाल पुस मसान्तसम्म तोकिएको कर छुटको समयावधिलाई बढाएर चैत मसान्तसम्म पुर्‍याउन उनले ज्ञापनपत्रमार्फत माग गरेका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->