पछिल्लो समय बाक्लो सिसा भएको चस्मा लगाउने बालबालिकाको संख्या बढ्दै गइरहेको छ । साना नानीबाबुको आँखामा देखिने भद्दा चस्माले हाम्रा आँखाहरु बिझाउने गरेपनि त्यसको कारणबारे भने चर्चा कम भएको छ । अहिले नानीबाबुहरुको आनीबानी बदलिएको छ । बालबालिकाहरु मोवाइल,टेलिभिजन वा कम्प्युटरमा बस्ने,भिडियो गेम खेल्ने आदतबाट ग्रस्त रहेका छन् । आधुनिक ग्याजेट प्रयोगका कारण उनीहरुमा दृष्टिदोष बढ्दै गएको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् । हालै बेनी नगरपालिकाका विभिन्न विद्यालयमा आयोजित शिविरमा विद्यार्थीको आँखा जाँचका क्रममा अधिकांशमा दृष्टिदोषको समस्या बढ्दै गएको देखिनुको कारण पनि यही हो । त्यसो त, संसारमा १ लाखभन्दा बढी बालबालिकाहरु अन्धोपनबाट ग्रसित छन् । तीमध्ये एक तिहाइ नेपालजस्तै अल्पविकसित मुलुकका छन् ।
चिकित्सकका अनुसार दृष्टिदोष नजिक र टाढा गरी दुई प्रकारका हुन्छन् । ग्याजेट प्रयोगले नजिकको दृष्टिदोष बढाउँछ । बालबालिकाहरु नजिकको बस्तु देख्न नसक्ने हुन्छन् । प्राकृतिक कारणले हुने दृष्टिदोष त छँदैछ । खासगरी आँखा टेढो हुनेहरुमा यस्तो समस्या देखिन्छ । यो समस्याको समाधान अप्रेसनबाट सम्भव हुन्छ । पछिल्लो समयमा बढेको दृष्टिदोषको उपचार भने ग्याजेटको कम प्रयोगबाट मात्र सम्भव हु्न्छ । यसको लागि बालबालिकाहरुलाई कम्प्युटरलगायतका ग्याजेटबाट टाढा राख्नुपर्छ । आँखा अल्छी हुनु भनेका बिस्तारै दृष्टिदोष हुँदै जानु हो । अल्छी आँखाको उपचार सानो उमेरमा मात्र सम्भव हुन्छ । उमेर छिप्पिएपछि त्यसको उपचार दुरुह हुन्छ । यो अभिभावकले बुझ्नु जरुरी छ । आँखाको कालो नानीमा सेतो देखिनु, कुनै पनि वस्तु हेर्दा मुन्टो तथा अनुहार बंग्याउनु, आँखा छड्के देखिनु, आँसु आउनु, धेरै आँखा झिम्क्याउनु वा रातो हुनु,आँखा चिलाइरहनु तथा बालबालिकाहरुले टेलिभिजनलाई नजिकबाट हेर्न गरेमा उनीहरुको आँखामा समस्या छ भन्ने अभिभावकले बुझ्नुपर्छ ।
आँखा शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । यसको हिफाजत गरिनैपर्छ । बेलैमा होस पु¥याउन सकिएन भने अन्धोपनको शिकार हुनसक्ने सम्भवना रहन्छ । साना बाबुनानीलाई यो विषयमा जानकारी हुँदैन, उनीहरुको आँखा जोगाउन अभिभावकले नै विशेष भूमिका निर्वाह गर्नुपर्छ ।





