मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जनप्रतिनिधिबाटै जलविद्युत आयोजना ठप्प

जनप्रतिनिधिबाटै जलविद्युत आयोजना ठप्प

म्याग्दीको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाका कारण दाङखोलामा पुल बन्न ढिलाई भएको विषयमा आक्रोशित प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधीहरुले निर्माण ठप्प पारेका हुन ।


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८२, शुक्रबार

म्याग्दी/जलविद्युत निर्माण कम्पनीले सहमति अनुसारको काम नगरेको भन्दै म्याग्दीमा जनप्रतिनिधिसहितको टोलीले निर्माणकार्य नै ठप्प पारेका छन । बिहीबार निर्माणस्थल पुगेका उनीहरुले विभिन्न सवारी उपकरणको चाबी नियन्त्रणमा लिएका हुन् ।

त्यहाँ सहभागी गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशम जुग्जालीले निर्माण कम्पनी छलफलमा नआउँदासम्म काम प्रभावित हुने जानकारी दिए ।

म्याग्दीको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाका कारण दाङखोलामा पुल बन्न ढिलाई भएको विषयमा आक्रोशित प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधीहरुले निर्माण ठप्प पारेका हुन ।

दरवाङ–दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ–गुर्जा सडकअन्तर्गत मालिका गाउँपालिका वडा नं.५ र धवलागिरी गाउँपालिका वडा नं.७ को सीमामा रहेको दाङखोलामा मोटरेबल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच २०७६ जेठ २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण पक्षले एक करोड करोड ९३ लाख २९ हजार चार सय ५७ रुपैयाँमा ठेक्का सम्झौता गर्दै २०७७ जेठ २० गते सम्पन्न गर्ने भनिएको थियो ।

१८ मिटर लामो मोटरेबल निर्माण कार्य सुरु गर्ने तयारी भएको अवस्थामा दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको बाँधको डुवान क्षेत्र पर्ने हुँदा प्रस्ताव गरिएको भन्दा दुई सय मिटर माथी पुल बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने र सरकारी निकायबाट पुल नबनेको अवस्थामा आयोजनाले नै पुल बनाउने सहमति भएको थियो ।

सांसद जुग्जालीको सचिवालयले सार्वजनिक गरेको सहमतिपत्र अनुसार २०७६ असोज ५ गते धवलागिरि, मालिका गाउँपालिकाका जनप्रतिनिधि, आयोजना र पूर्वाधार विकास कार्यालय तथा स्थानीयबासीहरुको उपस्थितिमा भएको बैठकमा सरकारी पक्षबाट पुल निर्माण नभएमा दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाले बनाउने उल्लेख छ । उक्त निर्णयमा दरवाङ म्याग्दीखोलाको प्रर्वद्धक धौलागिरी कालिका हाइड्रोका तत्कालीन निर्देशक हर्कमान मगरले हस्ताक्षर गरेका थिए ।

तर, पुल हालसम्म पनि बन्न सकेको छैन । समयमा पुल निर्माणको काम नभएपछि पूर्वाधार कार्यालयले ठेकेदारलाई पेश्की दिएको ३२ लाख रुपैयाँ धरौटीबाट फिर्ता गर्ने प्रक्रिया अगाडी बढाएपछि पुल निर्माण कम्पनीउच्च अदालत पोखरा बागलुङ इजलासमा पुगेको थियो ।

अदालतले उक्त रिटमा मध्यस्थता बाट विवाद समाधान गर्न आदेश दिएको थियो ।दाङखोलामा पुल नबनेको विषयमा मौखिक रुपमा गरिएको आग्रह तथा धवलागिरी गाउँपालिका वडा नं.७ को कार्यालयबाट २०८१ चैत २१ गते र गत कात्तिकमा भएको पत्राचारको विषयमा जलविद्युत आयोजनाले सुनुवाइ नगरेपछि आन्दोलनमा उत्रिएका हुन् ।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, वडा अध्यक्षहरु अशोक खत्री, देवेन्द्र रोका, अकप्रसाद विक, कार्यपालिका सदस्य नरकुमारी बुढाथोकी, क्रियाशिल राजनीतिक दल, अगुवा र संघ संस्थाका प्रतिनिधीहरुले मालिका गाउँपालिका ६ गोज्जाको अडित र इल्पुमा पुगेर आयोजनाको निर्माण कार्य रोकेका हुन् ।

आयोजना स्थलमा रहेका उपकरण तथा सवारी साधनहरुको चावी नियन्त्रणमा लिएर काम बन्द गर्न लगाइएको थियो ।

धौलागिरि कालिका हाइड्रोका सञ्चालक तेजेन्द्र रोकाले दाङखोलाबाट हाल बाँध निर्माण स्थल इल्पुमा सारिएको र मोटरेवल पुलको विषयमा आफू नयाँ सञ्चालक भएकाले पुरानो सहमतिको विषयमा जानकार नभएको बताएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->