पोखरा/पोखरामा बिहीबारदेखि ‘आर्ट इन हिमालयज २०२६’ सुरु भएको छ । हिमाली जीवन, मौलिक चेतना, प्रकृति र मानवीय अनुभूतिलाई कलात्मक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यका साथ मुलरनीको सार शीर्षकमा चित्र प्रदर्शनी आयोजना गरिएको हो ।
सिर्जनशिल कलाकार समुह पोखराको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयोजनमा तीन दिने प्रर्दशनी आयोजना गरिएको हो । सिर्जनशील कलाकार समुहका अध्यक्ष डिबी गुरुङले चित्रकलाबाट बाच्ने प्रसस्त आधार रहेको सुनाए । उनले चित्रकला मनोरञ्जनका लागिमात्रै नभइ प्रकृतिलाई कलाको माध्यमबाट पहिचात दिने साधकको रुपमा रहेको बताए । चित्रकला प्रदर्शनीमा विभिन्न ६ राष्ट्रका कलाकारहरुको सहभागिता रहेको गुरुङले जानकारी दिए । पोखरा प्राकृतिक सुन्दरताले भरिएका कारण समेत कलाकारको प्रमुख रोजाइमा पर्दै आइरहेको उनी सुनाउँछन् । यो चित्रकला प्रदर्शनीले पोखराको प्रकृति र संस्कृतिलाई विश्वमाझ पु¥याउने गरेको छ ।
‘पोखरालाई विशेष रोजाइमा राख्ने गरिन्छ । यहाँको प्राकृतिक सांस्कृतिक कुराहरु कलामार्फत साटासाट गर्नका लागि र यहाँको कलाकृति बुझ्नका लागि र विश्वमाझ हाम्रो कला चिनाउनका लागि यो प्रदर्शनी आयोजना गरिएको हो,’ उनले भने, ‘यसबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै फाइदा रहेको बताए । सामूहिक कला प्रदर्शनी गर्नु नै ठूलो उपलब्धि हो ।’
अहिले विश्व मानचित्रमा प्रयोगमा आइरहेको कलाकृतिसँगै उनीहरुले गरेका काम र नेपाली कलाकारले गरेको कामको माध्यम एक आपसमा आदानप्रदान गर्न पाउने उनले सुनाए ।
उनीहरुले धेरै मूल्य तिरेर यहाँका आर्टहरु लैजाने गरेका छन् । अघिल्लो वर्ष समेत धेरै चित्रहरु लगेको बताए । चित्रकारहरुका लागि राज्यले आर्ट ग्यालरी, संग्रहालय र कलाकार जम्काभेट हुने स्थल निर्माण गर्न आवश्यक रहेको उनले सुनाए । सुविधासम्पन्न आर्ट ग्यालरी बनाउन आवश्यक रहेको उनी सुनाउछन् । पोखरा महानगरपालिकाले आर्ट ग्यालरी बनाउदै गरिरहेको र प्रदेश सरकारले समेत त्यस्तै थलो बनाएमा ठूलो राहत मिल्ने उनको भनाइ छ ।
२०३८ सालदेखि चित्रकलामा लागेका सक्रिय चित्रकार रमेश श्रेष्ठले चित्रकलामा नयाँ कलाकारहरुको आगमनसमेत निकै राम्रो रहेको बताए । कला क्षेत्रले जीविकोपार्जनका लागि सहजै बाच्ने आधार बनाइदिएको र यसका लागि धैर्यता मुख्य कुरा रहेको उनको भनाइ छ । उनका अनुसार पोखराको सौन्दर्यताले चित्रकलालाई मोहित पार्ने गरेको छ । पोखराको प्राकृतिक सौन्दर्य नै कलाकारको मुख्य स्रोत रहेको उनी सुनाउँछन् ।
‘नेपाली कलाको उद्गम् स्रोत भनेको प्रकृति हो त्यसैले पोखराका कलाकारहरुको कला साह्र्रै राम्रा हुन्छन भनेर मानिसहरुले व्याख्या गरिरहेका छन् ।जीवन र जगतका लागि कला महत्वपूर्ण चीज हो,’ उनले भने, ‘यो क्षेत्रबाट जिविकोपार्जन गर्नाका लागि धेरै ठाउँहरु पाएका छन् । चित्र बेचेरमात्रै होइन विद्यालयस्तरमा चित्रकला सिकाएर पनि जीवनयापन गर्न सक्ने बेला आइसकेको छ । नेपालमा चित्रकलाको ठूलो स्कोप छ ।’
विश्वले नेपाली चित्रकलालाई धेरै मनपराउने त्यसमा पनि पोखराको ल्याण्डस्केप र वाटरमार्कले पनि धेरै अघि बढाएको छ । नेपाली चित्रकलाको श्रीवृद्धिमा पोखराको ठूलो भूमिका रहने श्रेष्ठ बताउछन् । ‘नयाँ कलाकारहरु पनि थुप्रै आउनुभएको छ र उहाँहरुको काम पनि निकै सुन्दर छ । तर, थोरै दिनको समयले हुँदैन लामो समयको यात्रा चाहिन्छ’ उनले थपे ।
चित्रकलाको दुनियाँमा पाइला टेकेका अमृत परियारले चित्रकलामा भविष्य रहेको बताए । सानै देखी चित्रकलामा रुची भएका उनी अग्रज चित्रकारहरुसँग भेट भएपछि धेरै फरक पाएको सुनाए । अहिले चित्रकलाको शिक्षकको रुपमासमेत रहेका उनले जीविकोपार्जनका लागि चित्रकला माध्यम हुने सुनाए । सानैदेखि कला क्षेत्रमा रुची भएका उनले विद्यालयमा सिकाउने र अहिले सिक्नुमा धेरै फरक भएको उनेको अनुभव छ । ‘विद्यालय स्तरमा सिक्दा र अहिले सिक्दा धेरै फरक पाए । स्कोप राम्रो छ आफूले धैर्य गर्न सके जीविकोपार्जन गर्न गाह्रो छैन् । विदेशी कलाकार सँग भेट्दा निकै खुसी लाग्छ ।’





