बागलुङ/संघीयता स्थापनापछि स्थानीय तहमा कृषि प्राविधिक अभावले प्रभावकारी उत्पादन, बजारीकरण र व्यावसायिकरण नभएको सरोकारवालाले बताएका छन् । उनीहरुले राज्यका तीनवटै तहका कृषि प्राविधिक र विज्ञ तथा जनप्रतिनिधिको साझेदारीमा मात्र कृषिको उत्पादन बढाउन सकिने उनीहरुको भनाइ छ ।
बागलुङमा शनिबार आयोजित कृषि क्षेत्रको रुपान्तरण र व्यावसायिकीकरणसम्बन्धी अन्तरसंवादमा उनीहरुले किसान धनी बन्ने र राज्य समृद्दिमा जाने वातावरण बनाउनुपर्ने बताए । गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. योगेन्द्रराज रिजाल र दुर्गा लामिछानेले किसानभन्दा गर्व गर्नलायक बन्नुपर्ने बेला आएको बताए । उनीहरुले किसानलाई हेर्ने दृष्टि राज्यले स्तरीय बनाउनुपर्ने र त्यसका लागि नीति तथा योजना आयोग सोही प्रकृतिको कार्यक्रम बनाउन तयार रहेको बताए ।
अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धी उत्पादनका लागि गुणस्तरमा ध्यान दिनुपर्ने गण्डकी प्रदेशका कृषि सचिव बासुदेव रेग्मीले बताए । बागलुङका किसानको कृषि रुपान्तरण तथा व्यवसायिकीकरण सरोकार अभियानको आयोजना र कृषि मन्त्रालयको सहयोगमा भएको अन्तरसंवादमा किसानले वर्तमान उत्पादनको अवस्था र बजारबारे बोलेका थिए ।
किसान तथा सहकारी क्षेत्रका सरोकारवालाको धारणा र माग सुनेपछि सचिव रेग्मीले प्रतिस्पर्धी बजार सुहाउने गरी उत्पादन दिन नसके नेपालीको कृषि बजार नपाइने बताए । त्यसका लागि किसान इमान्दार बन्नुपर्ने,राज्यको लगानी उत्पादनको आधारमा हुनुपर्ने र गुणस्तरमा सम्झौता नगर्ने खालको बन्नुपर्ने बताए ।
‘एकदुई वर्षसम्म राम्रो उत्पादन गरेका किसानले छिटो फाइदा खोजेर बिषादी प्रयोग गर्ने बानी बसेको छ, त्यसले अन्तर्राष्ट्रिय बजार पाउन सकिएन,’ रेग्मीले भने, ‘अर्गानिकमा ख्याल नगर्दा छिमेकी देशले नेपाली उत्पादन खरिद गरिदिन मानेका छैनन् ।’ चीनमा सुन्तलाको बजार भएपनि गुणस्तर र अमिलोमा लाग्ने किरा हटाउन नसक्दा बिक्री नभएको उनले बताए ।
लागत मूल्यमा पनि नेपाली किसानमा अध्ययन नै नभएको उनले बताए । प्रतिकेजी सुन्तला वा धान उत्पादन गर्दा कति लागत लागेको छ ? कति नाफा कमाउने ? भन्ने हिसाब नगरी मूल्य निर्धारण गर्ने पद्धति नै घातक भएको उनको भनाइ थियो । रेग्मीले हरेक किसान अब व्यावसायिक बनेर निर्यातमुखी उत्पादन गर्ने र आयात प्रतिस्थापन गर्ने काममा सक्रिय बन्नुपर्ने उनले सुझाए ।
कार्यक्रममा बागलुङ नगरपालिकाकोतर्फबाट हालको जिल्लाको कुल खेतीयोग्य जमिनको अवस्था, कृषि उत्पादन र अबको आवस्यकताबारे प्रस्तुतिकरण भएको थियो । नगरपालिकाकोतर्फबाट ज्ञानेन्द्रराज पन्त र रामचन्द्र गौतमले प्रस्तुतिकरण गरेका थिए । उक्त प्रस्तुतीकरण अनुसार जिल्लाको ४६ हजार १ सय ४८ हेक्टर खेतीयोग्य जमिनमा ३० हजार हेक्टरमा मात्र खेती लगाइएको छ । १४ हजार हेक्टर बाँझो रहेको र २५ प्रतिशत जमिनमात्र सिंचाइयोग्य रहेको बताइएको छ । तसर्थ उत्पादन बढाउन सिंचाईका योजना बढाउनुपर्ने समेत सुझाइएको थियो ।
अगुवा किसान नारायण पौडेलले किसानलाई हेर्ने दृष्टिकोण फेर्ने, सल्लो लगायतको वृक्षारोपणभन्दा उत्पादन दिने बिरुवा रोप्न राज्यलाई सुझाए । बरपीपल, चिउरी र बडहर लगायतको बिरुवा रोप्न सकेमा बाँदर आतंक पनि कृषिमा नपर्ने उनको भनाइ थियो । त्यस्तै झाडी क्षेत्र बढेकोले वनले सरसफाइमा साथ दिनुपर्नेसमेत उनले बताए ।
युवा अगुवा सुजन सापकोटाले सिंचाइ बढाउने, बिचौलियाबाट किसानसम्म फाइदा पु¥याउने र युवा क्षेत्रलाई कृषिमा आकर्षित गराउनुपर्ने सुझाए । सहकारीहरुले उत्पादनमा साथ दिनुपर्ने र दिएकोमा राज्यले पनि चासो गरिदिनुपर्ने सीवाईसी सहकारीका कर्जा विभाग प्रमुख शालिकराम पौडेलले बताए । कार्यक्रममा दर्जनबढी किसानले आफ्नो धारणा राखेका थिए । कार्यक्रम अगुवा किसान विजय पन्तले संचालन गरेका थिए ।





