बागलुङ/उद्योग वाणिज्य संघ बागलुङले निर्वमान अध्यक्ष नरेश कँडेलललाई नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार बागलुङ उद्योग वाणिज्य संघको बैठकले आसन्न ९ औं प्रदेश सभामा संस्थाका निवर्तमान अध्यक्ष एवं महासंघ गण्डकी प्रदेश कार्यसमिति सदस्य कँडेललाई महासंघको प्रदेश अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा बसेको बैठकले कँडेलसँगै महासंघ गण्डकी प्रदेश कार्यसमिति सदस्य दयाराम पौडेललाई जिल्ला नगरको तर्फबाट सदस्य पदको उमेदवार र पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान केन्द्रिय सदस्य युवराज राजभण्डारीलाई नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६० औं वार्षिक साधारण सभामा तथा अधिवेशनमा जिल्ला नगर तर्फबाट खुल्ला केन्द्रिय सदस्य पदमा उमेदवार बनाउने निर्णय गरेको छ ।
बैठकले गत पुस ११ देखि २२ गतेसम्म संचालन भएको गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं ८ औं बागलुङ महोत्सव सम्पन्न गर्न सहयोग गर्ने प्रायोजक, सह–प्रायोजक नेपाल उद्योग बाणिज्य महासंघ, स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधि, प्रवद्र्धक लगायत सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव इन्द्रमणि पौडेलले जानकारी दिए ।
बागलङ महोत्सवमा आठ करोड रुपियाँको कारोबार भएको थियो । महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरेका थिए । महोत्सवमा विभिन्न व्यावसायिक स्टल साथै स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ‘मेड इन बागलुङ’ नाम दिएर भेंडाको ऊनबाट बनेका काम्ला, अल्लोको कपडा, गुन्द्रक, भाँगो, मकैको पिठो, कोदोको पिठोलगायत सिस्नोको धुलो, टिमुर, आलु, सिल्टिमुर, सुन्तला, किवीको प्रदर्शनी तथा बिक्री गरिएको थियो ।
बैठकले उद्योग वाणिज्य संघ बागलुङको ६२ औं साधारण सभा बागलुङ उद्योग बाणिज्य संघको स्थापना दिवस आगामी फागुन २० गते गर्ने निर्णय समेत गरेको छ ।





