पोखरा/पर्यटकीय शहर पोखरामा अनलाइनमार्फत हुने ठगी बढ्दो अवस्थामा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै साढे १० करोड भन्दा बढी रकम अनलाइनमार्फत ठगी भएको छ ।
पुस मसान्तसम्मको ६ महिनाको अवधिमा १० करोड ६३ लाख ५३ हजार रुपैयाँ ठगी भएको प्रहरीमा उजुरी परेको र सबैभन्दा बढी कात्तिक महिनामा ठगी भएको छ ।
कात्तिक महिनामा मात्रै विभिन्न प्लेटफर्म मार्फत ३ करोड १४ लाख ३३ हजार रुपैयाँभन्दा बढी ठगी भएको प्रहरीले जनाएको छ । पुसमा २ करोड ४९ लाख, साउनमा १ करोड ५ लाख, भदौमा १ करोड ५० हजार, असोजमा १ करोड ८९ लाख र मंसिरमा १ करोड ४ लाख रुपैयाँ अनलाइनमार्फत ठगी भएको प्रहरीको भनाई छ ।
ठगी गरिएको रकममध्ये कास्की प्रहरीले हालसम्म १ करोड ५५ लाख मात्रै पीडितलाई फिर्ता गर्न सफल भएको छ । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार सबैभन्दा धेरै मंसिरमा १ करोड २३ हजार रुपैयाँ फिर्ता भएको थियो ।
कात्तिकमा १ लाख ७० हजार रुपैयाँ, साउनमा १९ लाख, भदौमा साढे १० लाख, असोजमा करिब ७ लाख र पुसको हालसम्म १६ लाख ११ हजार रुपैयाँ फिर्ता भएको उनले बताए ।
ठगी गर्ने गिरोहले सामाजिक सञ्जाल टिकटक र फेसबुकलाई मुख्य हतियार बनाएको प्रहरीको तथ्यांकले देखाएको छ । यस अवधिमा दर्ता भएका ५ सय ८७ उजुरीमध्ये सबैभन्दा धेरै टिकटकबाट १ सय ५८ वटा ठगी भएका छन् । फेसबुकबाट १ सय ४४ वटा घटना भएका छन् भने इन्स्टाग्राममार्फत ४५, टेलिग्राम ४७, फोनबाट १८ र ओटिपी कोड मागेर २४ जना ठगीमा परेका छन् ।
यसरी अनलाइन मार्फत हुने ठगीमा महिला बढी पीडित भएका छन् । ३ सय २६ जना महिला र २ सय ६१ जना पुरुष ठगिएको उनको भनाई छ । महिनागत रूपमा हेर्दा मङ्सिर महिनामा सबैभन्दा बढी १ सय १९ वटा उजुरी परेका थिए भने भदौमा सबैभन्दा कम ७९ उजुरी दर्ता भएका थिए । अनलाइन कारोबारसँगै ई–सेवा, खल्ती जस्ता डिजिटल वालेट र बैंक खाताहरूको दुरुपयोग गरी ठगी गर्ने क्रम बढेकाले सामाजिक सञ्जाल प्रयोग गर्दा र अपरिचित व्यक्तिसँग आर्थिक कारोबार गर्दा उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा ७ सय ५१ वटा उजुरी दर्ता भएकोमा ८ करोड ७९ लाख ठगी भएको थियो । २ करोड १९ लाख मात्रै पीडितले फिर्ता पाएका थिए । आर्थिक वर्ष २०७९÷८० मा ४ सय २ वटा उजुरी दर्ता भई ४ करोड ३५ लाख ठगी भएकोमा जम्मा ५७ लाख ५२ हजार फिर्ता गर्न प्रहरी सफल भएको थियो ।





