पोखरा / पोखरामा जारी सडक महोत्सवको समापन समारोहका लागि बेलुन भर्ने क्रममा ग्यास सिलिन्डर पड्कदाँ एक जना घाइते भएका छन् । आइतबार विहान महोत्सवको समापन समारोहमा बेलुन उडाइ कार्यक्रम गर्ने आयोजकको कार्य तालिका थियो ।
समापन समारोहमा प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई आमन्त्रण गरिएको थियो । सोही कार्यक्रमका लागि एक सय वटा बेलुन भर्ने क्रममा घटना भएको हो ।
सोही क्रममा सिलिन्डरको पिँध पड्कदा बेलुन भर्दै गरेका धिरजकुमार गुप्ता घाइते भएका हुन । घटना विहान ११ बजेदेखि १२ बजे भित्रको हो । विहान खासै मान्छे नभएकाले ठूलो घटना नभएको देखिन्छ ।
धिरजको घाटीमा चोट लागेको छ । उनको मणिपाल अस्पतालमा उपचार भइराखेको छ । घटनाको बारेमा भने प्रहरी वेखबर देखिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले सो घट्नाको वारेमा आफुलाई जानकारी नभएको बताए ।





