पोखरा/गण्डकीमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्ला कास्की हो । यहाँबाट तीन प्रतिनिधिसभा सदस्य चुुनिन्छन । त्यसपछि गोरखा, नवलपुर, बागलुङ, स्याङजा र तनहुँबाट २/२ गरि १० प्रतिनिधिसभा सदस्य निर्वाचित हुन्छन् ।
लमजुङ, मनाङ, पर्वत, म्याग्दी र मुस्ताङबाट १/१ गरी पाँचजना प्रतिनिधिसभा सदस्य निर्वाचित हुन्छन् । गण्डकीका यी ११ जिल्लाबाट १८ सिटका लागि २४७ जना चुनावी मैदानमा होमिएका छन । आफ्ना प्रतिनिधि छान्न यसपटक गण्डकीबाट १८ लाख ७० हजार ६५ जना मतदाताले मतदान गर्न पाउनेछन । प्रदेश निर्वाचन कार्यालयका अनुसार गण्डकीमा पुरुषभन्दा महिला मतदाता बढी छन । कुल मतदातामध्ये नौ लाख ५५ हजार ५१६ महिला मतदाता छन् । यो भनेको पुरुष मतदाताको संख्याभन्दा ३९ हजारले बढि हो । गण्डकीमा नौ लाख १४ हजार ५३५ पुरुष मतदाता छन । १४ जना अन्य मतदाता रहेका छन् ।
तर, यहाँ महिला उम्मेदवारकै संख्या चाहिँ कम देखिएको छ । मंगलबार भएको मनोनयनमा गण्डकीबाट २४७ उम्मेदवारले मनोनयन दर्ता गर्दा २५ जना महिला उम्मेदवार रहेका छन् । राष्ट्रियसभाको कार्यकाल सकिनुअघि नै राजीनामा दिएकी भगवती न्यौपानेलाई एमालेले तनहुँ १ बाट उमेदवार बनाएको छ । बागलुङ २ मा एमालेबाटै मञ्जु शर्मा चालिसे उम्मेदवार छन । मनाङमा नेपाली कम्युनिष्ट पार्टीले यशोदा गुरुङलाई उठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की ३ मा बिना गुरुङलाई उमेदवार बनाएको छ । उज्यालो नेपाल पार्टीले कास्की १ मा मनिषा द्वालाई अगाडि सारेको छ ।
गण्डकीमा प्रतिनिधीसभाका १८ वटा निर्वाचन क्षेत्र रहेको छ । यी दलबाहेक अन्य साना दलबाट गरी गण्डकीमा कुल २५ जना महिला उम्मेदवार प्रत्यक्ष निर्वाचनमा होमिएका छन । ठूलो दल कांग्रेसले महिला उम्मेदवार उठाएनन् ।गण्डकीका ११ जिल्लामध्ये तीन जिल्लामा त महिला उम्मेदवार नै छैनन् । एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको क्षेत्र लमजुङ, म्याग्दी र स्याङजामा दलबाटमात्र नभइ स्वतन्त्रमा पनि महिलाले उम्मेदवारी दिएका छैनन ।कास्कीबाट ५, पर्वतबाट ७, नवलपुरमा ५, बागलुङ, गोरखा र तनहुँमा २÷२ तथा मनाङ र मुस्ताङबाट १÷१ जना महिला उम्मेदवार छन् ।
निर्वाचन कार्यालयका अनुसार मंगलबार लमजुङमा १२, नवलुरमा ३७, बागलुङमा २३, म्याग्दीमा १३, पवर्तमा १७, मनाङमा ५, मुस्ताङमा ८, तनहुँमा २८, गोर्खामा २७, स्याङ्जामा २८ र कास्कीमा ४९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
गोरखा क्षेत्र नम्बर २ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उम्मेदवार बनेका थिए । तर, उनले फिर्ता लिए । यस्तै, लमजुङबाट पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ, तनहुँको २ बाट पूर्वमन्त्री शंकर भण्डारी चुनावी मैदानमा छन् । पृथ्वीसुब्बा एमालेबाट र शंकर कांग्रेसबाट उम्मेदवार बनेका हुन् । यो पटक उम्मेदवारी दिएकामध्ये अधिकांश संघीय संसदको चुनावमा नयाँ अनुहार रहेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङबाट १२ जना आकांक्षी छन । यहाँ एकमात्र निर्वाचन क्षेत्र रहेको छ । दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा ३७ जना आकांक्षी छन । कांग्रेसका पूर्वमहामन्त्री तथा बिपी कोइरालाका पुत्र सशांक कोइरालाले भने आसन्न चुनावमा टिकट पाएनन् ।वैज्ञानिक महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।
यद्यपि, रास्वपाका उमेदवार पुनलाई सघाउने वचन दिएका छन । तर, रास्वपाको उम्मेदवारी पनि कायमै छ । एकजना सांसद चुनिने म्याग्दीमा १३ आकांक्षी छन् ।पुरानै प्रतिष्पर्धी अर्जुनप्रसाद जोशी र पदम गिरीसहित पर्वतमा १७ जना मैदानमा छन । पर्वतबाट पनि एकजना प्रतिनिधीसभा सदस्य निर्वाचित हुनेछन् ।मनाङमा राप्रपा र एमालेका उमेदवारले फिर्ता लिएसँगै तीनजना मैदानमा छन् ।एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा रास्वपाले उम्मेदवारी दिन सकेन् ।
मुस्ताङमा एकजना प्रतिनिधिसभा सदस्य चुनिन्छन् । यहाँ ८ उम्मेदवार छन् ।दुई प्रतिनिधिसभा सदस्य चुन्ने तनहुँमा २८ उम्मेदवार मैदानमा छन् । रास्वपा उपाध्यक्ष डा. स्वर्णिम वाग्ले दोहोरिन चाहन्छन । गोविन्द भट्टराई जीत निकाल्न मैदानमा छन् ।डा. भट्टराईले उम्मेदवारी फिर्ता लिएसँगै गोरखामा २६ आकांक्षी मैदानमा छन । यहाँबाट दुई सांसद निर्वाचित हुन्छन् ।दुई क्षेत्र रहेको स्याङ्जामा २८ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।बागलुङले पनि दुई सांसद निर्वाचित गर्छ । यहाँ २३ जना उमेदवार मैदानमा छन ।तीन सांसद चुन्ने गण्डकीको एकमात्र कास्की जिल्लाबाट ४९ जना आकांक्षी छन् ।





