पोखरा / साविक लेखनाथ नगर क्षेत्रका होटल व्यवसायीहरूको छाता संस्था ‘होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ’ को अध्यक्षमा सुरेश लामिछाने चयन भएका छन् । सोमबार सम्पन्न संस्थाको १८औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले लामिछानेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विष्णुहरि सुवेदी, महासचिवमा शक्तिश्री कोइराला, सचिवमा राजेन्द्र सुवेदी र कोषाध्यक्षमा मुक्ति सुवेदी चयन भएका छन् । सदस्यहरूमा प्रकाश सापकोटा, निर्मला थकाली, अमृत लामिछाने, रविभक्त थापा, अनिल ढकाल र ओम श्रीस मगर रहेका छन् । करिब एक सयभन्दा बढी व्यवसायी आबद्ध संस्थाको निर्वाचन मण्डलको संयोजकमा दामोदरभक्त थापा तथा सदस्यमा पूर्वअध्यक्षद्वय कृष्णप्रसाद तिमिल्सिना र अर्जुन लम्साल थिए ।
अधिवेशनका अवसरमा बेगनासताल किनारको माझिकुनालाई आन्तरिक तथा बाह्य पर्यटन गन्तव्यका रूपमा चिनाउन योगदान पुर्याएको भन्दै सूर्य लामिछानेलाई सम्मान गरिएको थियो । अधिवेशनको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा आउने पर्यटकको बसाइ लम्ब्याउन बेगनास क्षेत्रको विकास अपरिहार्य रहेको बताए । बेगनासताललाई नयाँ पोखराको रूपमा विकास गर्दै पर्यटकीय गतिविधि बढाउनुपर्नेमा उननले जोड दिए । पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, पोखरा महानगर व्यवसाय प्रवर्द्धन केन्द्र प्रमुख नवराज अधिकारी र पोखरा भ्रमण वर्षका सह–संयोजक दामोदरभक्त थापाले बेगनास आसपासको प्रचारप्रसारमा जोड दिएका थिए ।
संस्थाका निवर्तमान अध्यक्ष वीरभद्र कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष शक्तिश्री कोइरालाले आर्थिक र तत्कालीन महासचिव सुरेश लामिछानेले प्रगति प्रतिवेदन पेस गरेका थिए ।





