शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

को थिए पोखराबाट उडेको ‘नन्–स्टप’ निजी उडानमा ?

को थिए पोखराबाट उडेको ‘नन्–स्टप’ निजी उडानमा ?

चालक दलका दुई सदस्यसहित बिहीबार बिहान ७.२५ बजे पोखरा विमानस्थलम ओर्लिएका उनी लेकसाइडस्थित होटल ल्यान्डमार्कमा बसेका थिए ।


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०८२, आइतबार

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आईतवार बेलायतका लागि पहिलो ‘नन्–स्टप’ उडान भएको छ । बेलायती खर्बपति व्यवसायी एवं राजनीतिज्ञ लेखक लर्ड माइकल एसक्रफ्ट आफ्नो चार दिने पोखरा भ्रमण सकेर आइतबार दिउसो सोही नन स्टप निजी उडानबाट बेलायत फर्किएका हुन् ।

७९ वर्षीय लर्ड माइकल एसक्रफ्ट बेलायतका शीर्ष धनीहरूको सूचीमा पर्ने बहुआयामिक व्यक्तित्व हुन् । उनको पहिचान राजनीतिज्ञ, व्यवसायी, लेखक र परोपकारीका रूपमा छ ।

उनी बेलायतको कन्जरभेटिभ पार्टीका पूर्व उपाध्यक्ष तथा कोषाध्यक्ष हुन् । हाल उनी बेलायती ‘प्रिभी काउन्सिल’को सदस्यका रूपमा सक्रिय छन् । प्रिभी काउन्सिल बेलायती राजपरिवारको सल्लाहकार निकाय हो, जसमा पूर्व मन्त्री र उच्च पदस्थ व्यक्ति मात्र नियुक्त हुन्छन् ।

उनी ‘वाटरलू इन्भेस्टमेन्ट होल्डिङ्स’का अध्यक्ष र विभिन्न बहुराष्ट्रिय कम्पनीका सञ्चालक हुन् । उनको व्यावसायिक साम्राज्य सुरक्षा सेवा, फाइनान्स र निर्माणदेखि विभिन्न क्षेत्रमा फैलिएको छ । बेलायतको सन्डे टाइम्सको धनाढ्य सूचीमा उनी खर्बपतिको शीर्ष स्थानमा थिए ।

लर्ड माइकल गत बिहीबार आफ्नै निजी विमानमार्फत बेलायतबाट माल्टा, सिंगापुर हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनी आइतबार दिउँसो ११ घण्टाको सिधा उडान भरेर उनी स्वदेश फर्किए हुन् । यो पोखराबाट बेलायतका लागि भएको पहिलो ‘नन्–स्टप’ निजी उडान हो ।

चालक दलका दुई सदस्यसहित बिहीबार बिहान ७.२५ बजे पोखरा विमानस्थलम ओर्लिएका उनी लेकसाइडस्थित होटल ल्यान्डमार्कमा बसेका थिए । चालक दलका सदस्य भने वर पीपल रिसोर्टमा बसे । पोखरा बसाइँका क्रममा उनी ब्रिटिस गोर्खा क्याम्पसँगै रहेको गोर्खा स्मृति संग्रहालय पुगे ।

गोर्खा वीरताको इतिहाससँग दशकौंदेखि गहिरो सम्बन्ध राख्दै आएका उनले संग्रहालयमा पुगेर गोर्खा सैनिकले विश्वभर छरेको वीरताको चर्चा गर्दै उनीहरूको त्याग र समर्पणप्रति सम्मान व्यक्त गरे । म्युजियममा रहेका ऐतिहासिक सामग्री र पदकको अवलोकन गर्दै उनले लामो समय बिताएका थिए । त्यसअघि उनी ब्रिटिस क्याम्पको संयोजनमा पोखराकै अर्मला क्षेत्रमा पदयात्रा पनि गरेका थिए ।

चार दिनको पोखरा बसाइँलाई बिट मार्दै उनी आइतबार लन्डनतर्फ प्रस्थान गरेका हुन् । दिउँसो २.२५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उनको निजी जेट डेसल्ट फाल्कन ७ एक्स ११ घण्टापछि लन्डन अवतरण गर्ने विमानस्थलकी सूचना अधिकारी जसुधा रेग्मीले बताइन् । तीनवटा इन्जिन भएको अत्याधुनिक प्रविधिको उक्त विमानले ५ हजार ९ सय नटिकल माइलसम्मको दूरी बिनाबिसौनी पार गर्न सक्छ ।

पोखराबाट लन्डनको दूरी करिब ७ हजार ३ सय किलोमिटर रहेकोमा यो विमानले ११ घण्टाको उडानमा उक्त यात्रा पूरा गर्ने रेग्मीले बताइन् । यस्ता उच्च क्षमताका जेटको पोखरामा आवागमन हुनु नेपालको विमानस्थल पूर्वाधारको प्राविधिक सक्षमताको प्रमाण रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->