सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

हिमालमा चुनाव, सहरमा घरदैलो

हिमालमा चुनाव, सहरमा घरदैलो

जाडो छल्ल सहरतिर झरेका मुस्ताङीहरु चुनावमा घर नफिर्लान् भन्ने चिन्ता


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०८२, सोमबार

पोखरा/कात्तिकको अन्त्यतिर मुस्ताङवासीहरु जिल्ला छाड्छन् । बढ्दो चिसोबाट बच्न तथा व्यापारका लागि उनीहरु पायक पर्ने सहरदेखि भारतसम्म पुग्छन । फागुन सकिएर गर्मी बढ्न थालेपछि मात्रै उनीहरु जिल्ला फर्कन्छन् ।

अहिले मुस्ताङ हिउँले सेताम्मे छ । नागरिकहरु पनि जिल्ला बाहिर छन् । तर, यो वर्षको मुस्ताङ हिउँको चिसोमा पनि चुनावी सरगर्मीले तातेको छ । हिमाली जिल्लामा मंसिर पछाडि र चैत अगाडिको चुनाव साह्रै कठीन हुन्छ । उमेदवारहरुले पनि मतदातालाई सहजै भेट्न पाउँदैनन । चिसोका कारण मतदाता पनि जिल्ला फर्किन सहजै राजी हुँदैनन ।

यस्तोमा उमेदवारले नै मतदातालाई लैजानुपर्छ । कुसमयको चुनावले झनै खर्च बढाउने मुस्ताङबाट उम्मेदवारी दिएका उमेदवारहरु बताउँछन् ।

अहिलेको समयमो मुस्ताङवासीहरु आधाभन्दा बढी पोखरा र तल्ला सहरहरूमा झरिसकेका छन् । वर्षाभरि गाउँमा खेती किसानी गर्ने र हिउँद लागेपछि बेँशी झरेर व्यापारका लागि डुल्ने उनीहरूको सदियौँदेखिको चलन हो ।लोमान्थाङ र लो घेकरका सबैजसो पोखरा, बेनी,बागलुङ लगायतका क्षेत्रमा छरिन्छन् ।

मुस्ताङका विद्यालय र गुम्बा स्कुलहरूसमेत तल्ला क्षेत्रमा सारिएको छ । हिउँद याममा उत्तरी मुस्ताङका सबै स्कुलहरू घुम्तीका रूपमा पोखरा र आसपासमा चल्छन् ।

यही सहरी क्षेत्रमा नै मतदाता भेट्दै उमेदवारहरुले मत मागिरहेका छन । एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मु्स्ताङमा नेकपा एमालेले इन्द्रधारा ढाडु विष्टलाई उम्मेदवार बनाएको छ । २०७४ को प्रदेशसभा निर्वाचनमा मुस्ताङ ‘क’ बाट निर्वाचित भएका थिए । २०७९ मा पनि उनी प्रदेशसभामा दोहोरिएका थिए । तर, जीत हासिल गर्न सकेनन् ।

उपल्लो मुस्ताङका विष्टलाई अहिले एमालेले उम्मेदवार बनाएको छ ।पोखरामा रहेको मुस्ताङीलाई भेटेर अहिले उनी काठमाडौंका मतदाता भेट्दैछन् ।

‘पोखरामा सकेँ, अहिले काठमाडौंमा घरदैलो गर्दैछु,’उनले भने । विष्ट पर्यटन, कृषि, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका एजेण्डा लिएर मतदातासामु पुगेका छन् ।

मुक्तिनाथदेखि दामोदरकुण्ड हुँदै कैलाश पुग्ने रुटको व्यवस्था गर्ने, खम्पा क्याम्पलाई पश्चिमी तथा अमेरिकन पर्यटक लक्षित गरी व्यवस्थापन गर्ने, कृषि आधुनिकीकरण, कोराला नाकाको व्यवस्थापन तथा भूबन्दरगाहको रुपमा चिनाउने योजना उनको छ । उपल्लो मुस्ताङमा विदेशीलाई गरिएको निषेधित क्षेत्र हटाउने योजना उनले मतदातासामु राखेका छन् ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको लागि गत माघ ६ गते मनोनयन दर्ता भइसकेको छ । तर, त्यसको एकदिन अघि निर्वाचन आयोगले नेपाली कांग्रेसले बुझाएको बन्दसूची संशोधन गर्दै आदिवासी जनजाती क्लष्टरतर्फ दुई नम्बरमा रहेका रोमी गौचनको नाम हटाएको थियो । जबकि भोलिपल्ट अर्थात ६ गते उनै रोमीका छोरा योगेश गौचनले प्रतिनिधीसभामा कांग्रेसबाट उम्मेदवारी दिएका छन् ।

बाबुको नाम समानुपातिकमा र छोरा प्रत्यक्षमा चुनाव लड्दा परिवारवादको आरोप लाग्ने डरले नै रोमीले आफ्नो नाम हटाउन निवेदन दिएका थिए । योगेश २०७९ को प्रतिनिधिसभा निर्वाचनमा विजयी बनेका थिए । तर, कार्यकाल पूरा गर्न पाएनन् । उनलाई कांग्रेसले फेरि उम्मेदवार बनाएको हो ।

तर, पारिवारिक समस्याका कारण उनी मतदाता सामु गइसकेका छैनन् । व्यापारका लागि मतदाता पनि भारतसम्म पुगेको र फागुन अघिको चुनाव मुस्ताङको लागि सही नभएको उनको भनाइ छ ।हप्ता १० दिनपछि मात्रै मतदाता सामु जाने कार्यक्रम योगेशले बनाएका छन् ।

नेकपाले मुस्ताङमा ‘टाइगर’ उपनामले चिनिने ङुटुक गुरुङलाई उम्मेदवार बनाएको छ । यसपटक नेकपाले देशमा पहिलो खाता मुस्ताङबाट खोल्ने उनी जिकिर गर्छन् । कृषि, खेलाडी र निर्माण व्यवसाय पृष्ठभूमिका गुरुङ कृषि फार्मका सञ्चालकसमेत हुन् । उनी ०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि उमेदवार बनेर हारेका थिए ।

यसपल्ट मुस्ताङीले रास्वपालाई रोज्ने उमेदवार अधितीय चन्द्र थकालीको जिकिर छ । उनी नयाँ अनुहार हुन् । तीन ठूला दलका गतिविधिकै कारण संसद् विघटन भएर चुनाव गर्नुपर्ने बाध्यता भएको भन्दै उनी यसपटक रास्वपालाई बहुमतको सरकार बनाउन मुस्ताङले योगदान गर्ने बताउँछन् ।

उनीहरूबाहेक मुस्ताङमा आम जनता पार्टीबाट अजय विक, मंगोल नेसनल अर्गनाइजेसनका यमबहादुर गुरुङ, राप्रपाबाट कमला लालचन र उज्यालो नेपालका डा. सुरेन्द्र शेरचन उम्मेदवार छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लो-घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा गरी ३९ मतदानस्थल कायम छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो बनेको थियो । एमालेले तीन हजार ४०४ मत ल्याउँदा नेपाली काँग्रेसले दुई हजार ४८६ मत प्राप्त गरेको थियो । तत्कालीन माओवादी केन्द्रले ९८९, रास्वपाले २९९, राप्रपाले २०७, तत्कालीन नेकपा एसले ५५ मत ल्याएको थियो ।

फागुन २१ को प्रतिनिधीसभा निर्वाचनका लागि मुस्ताङमा १० हजार ९५७ मतदाता छन् । तीमध्ये पाँच हजार ५८१ महिला, पाँच हजार ३७५ पुरुष र अन्य एक मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->